• Menu

तीन अमेरिकी अर्थशास्त्रीलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

नेपाल प्रफिट

२०८१ असोज २९, १०:५८


एजेन्सी । अर्थशास्त्रतर्फको यस वर्षको नोबेल पुरस्कार अमेरिकी तीन अर्थशास्त्रीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ ।

पुरस्कार समितिले म्यासाचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु र साइमन जोन्सन तथा सिकागो विश्वविद्यालयका जेम्स रोविन्सनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

‘संस्थाहरू कसरी बन्छन् र समृद्धिलाई प्रभावित तुल्याउँछन् भन्ने अध्ययनका निम्ति’ ती अर्थशास्त्री पुरस्कृत भएको समितिले जनाएको छ । उनीहरूलाई कुनै देशहरू किन धनी र कुनै देशहरू किन गरिब छन् भन्ने विषयमा गरेको अनुसन्धानका लागि पुरस्कृत गरिएको हो । यी अर्थशास्त्रीहरूले विशेष गरी युरोपेली उपनिवेशको प्रभावमा केन्द्रित भएर अध्ययन गरेका छन् ।

अर्थशास्त्र विधाको पुरस्कार समितिका अध्यक्ष ज्याकोब स्वेन्सनले भने, ‘देशहरूबीचको आयमा विशाल भिन्नतालाई कम गर्नु हाम्रो समयको सबैभन्दा ठूलो चुनौती हो, पुरस्कार विजेताहरूले यसलाई प्राप्त गर्नका लागि सामाजिक संस्थाहरूको महत्त्वलाई कारण मानेका छन् ।’

अर्थशास्त्रतर्फ अहिलेसम्म ५६ पटक पुरस्कार दिइएकोमा ९६ जना पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा तीन जना महिला छन् । सन् १९६९ देखि यस विधामा पुरस्कार दिन थालिएको हो ।