म्याग्दी । दसैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडाच्याङ्ग्राको व्यापार भएको छ । दसैँका लागि मुस्ताङबाट बिक्री भएका आठ हजार भेडाच्याङ्ग्रामध्ये चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेको र तीन हजार दुई सय डोल्पा तथा मुगुबाट ल्याइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।
केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार दसैँमा पाँच सय भेडा (च्यालुक) र सात हजार पाँच सय च्याङग्रा बिक्री भएका छन् । ‘मुस्ताङका किसानले उमेर र तौलअनुसार प्रतिगोटा २८ हजारदेखि ३८ हजारका दरले च्याङ्ग्रा बेचेका छन्,’ उनले भने, ‘सरदर मूल्यअनुसार १६ रुपैयाँबराबरका च्याङ्ग्रा बिक्री भएका छन् ।’
गत वर्ष सात हजार भेडाच्याङ्ग्रा बिक्री भएको थियो । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायतका जिल्ला तथा सहरमा मुस्ताङका भेडाच्याङ्ग्रा बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपाली भेडाच्याङ्ग्राको व्यापार राम्रो भएको व्यापारीले बताएका छन् ।
जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थकर मानिन्छ । भएकाले दसैँ तिहारमा हिमाली च्याङ्ग्राको मासुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताए । तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुने गर्छ ।
बजारमा गत वर्षको तुलनामा प्रतिगोटा च्याङ्ग्रा १० हजार रुपैयाँ कम मूल्यमा बिक्री भएको छ । मुस्ताङको घरपझोङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङ्ग्रा पालिएको छ । यहाँका किसानको मुख्य आयस्रोत नै च्याङ्ग्रापालन हो ।