सुनसरी । सुनसरी सदरमुकाम इनरुवा-४ का विनोद मेहताले दुई बिघा केराखेती गरेका हुन् । सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पुर्याएपछि उनी चिन्तित छन् । उनले भने, ‘आफ्नै जग्गामा प्रति बिघा ८ लाखको लागतमा केरा लगाएका थिए । दुईबिघा मध्ये १३ कठ्ठा केरा खेतीमा क्षति भयो । केरा खेतीबाट छठपर्वमा सम्ममा १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्य राखेको थिए । बाढीले क्षति गरेपछि ठूलो नोक्सानीको सामना गर्नुपरेको छ ।’ उनले भारतको मदरासबाट मदरासी चिनिचम्पा जातका केराको बीउ ल्याएर लगाएका थिए ।
यही असोज ११ र १२ गते वर्षासँगै आएको बाढीले केराखेती कटान गरेर लानुका साथै पानी जमेकाले केरा सुक्न थालेको उनले बताए । बाढीका कारणले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लामा ५० हेक्टर क्षेत्रफल केरा खेती नष्ट भएको तथ्यांक प्राप्त भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए ।
बाढीले ५० लाख बराबरको केरा खेतीमा क्षति भएको उनले बताए । बाढीले सुनसरी सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगन्ज गाउँपालिकामा लगाएको केरा खेतीमा क्षति भएको छ ।
हावाहुरीका कारण क्षति पुगेको केराखेतीमा सरकारले क्षतिपूर्तिबापत सहयोग गर्नुपर्ने स्थानीय किसानले बताएका छन् । यसवर्ष केरा खेतीमा दैवीप्रकोपले ठूलो नोक्सानी पुर्याएका कारण बजारमा केरा अभाव हुनसक्ने आँकलन गरिएको छ भने मूल्य बढ्ने आँकलन गरिएको छ । सुनसरीमा ५ सय १० हेक्टर क्षेत्रफलमा केराखेती हुँदैआएको छ ।