• Menu

दसैँमा अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान मक्ख

नेपाल प्रफिट

२०८१ असोज २०, १२:१४

दसैँमा अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान मक्ख

महोत्तरी । चाडपर्व प्रारम्भ हुन लागेका बेला सकारबाट अनुदान रकम पाएपछि महोत्तरीका उखु किसान प्रसन्न छन् । राज्यबाट अनुदान पाउने कुनै आशाभरोसा नभएको स्थितिमा रकम पाएपछि उनीहरू मक्ख परेका हुन् ।

आर्थिक वर्ष २०८०/८१ मा गौशाला–१ स्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजलाई उखु बेचेका किसानले अनुदानबापतको रकम पाएका हुन् । उक्त उद्योगलाई गत वर्ष उखु बेचेका १४ हजार ४४४ किसानका खातामा उनीहरुले बुझाएका उखुको परिमाणअनुसार प्रतिक्विण्टल ७० का दरले अनुदान रकम दाखिला भएको कोष तथा लेखा नियन्त्रण कार्यालय छ । किसानलाई २० करोड ३३ लाख १५ हजार ८११ अनुदान दिइएको छ ।

कार्यालयप्रमुख बालकृष्ण अधिकारीका अनुसार अनुदान रकम बैंक खाता भएका सबै किसानले पाएका र नहुनेले पनि धमाधम खाता खोल्न थालेका छन् । ‘रकम दाखिलाको क्रम जारी छ,’ उनले भने ।

‘दसैँमा कसरी गर्जो टारौँ भन्ने थियो, अनुदान रकम आएपछि प्रसन्न छु,’ भङ्गाहा-४ का उखु किसान अरुण गिरी भन्नछन्, ‘ हामीलाई दसैँ उपहार पाएजस्तै भएको छ ।’ गिरीजस्तै बर्दिबास-९ पशुपतिनगरका अर्का किसान रामविनोद महतोले पनि चाडपर्वअघि अनुदान रकम पाइँदा राहत मिलेको बताए ।

महोत्तरीमा दुईवटा चिनी उद्योग सञ्चालनमा रहेका भए पनि दुई वर्षअघिमात्र सञ्चालनमा आएको सिद्धिविनायक चिनी उद्योगले गत वर्ष प्राविधिक गडबडीले उखु क्रसिङ् गर्न सकेन ।

एभरेष्ट चिनी उद्योगले भने २९ लाख ४ हजार ५११ क्विन्टल उखु क्रसिङ् गरेर २ लाख ६४ हजार ५११ क्विन्टल चिनी उत्पादन गरेको थियो ।

गत वर्ष उखुको मूल्य उद्योगले ५४० र सरकारले अनुदान बापत ७० गरी प्रति क्विन्टल ६१० कायम गरेको थियो । किसानले प्रतिक्विन्टल ७५० हुनपर्ने माग गरेका थिए ।

सरकारले तीन वर्षयता उखुको अनुदान रकममा प्रति क्विण्टल ५ बढाएर ७० पुर्‍याएको हो । उखुको समयमा नै भुक्तानी तथा सरकारबाट अनुदान पनि पाएका यहाँका किसान उखुखेति विस्तार गर्ने योजनामा रहेका उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाले बताए ।

हाल यहाँ दश हजार बिघामा उखुखेती भएको छ । उनले उखु उत्पादक किसानको सहभागितामा प्रत्येक वर्ष ‘क्रसिङ् सिजन’अगावै को मूल्य निर्धारण हुनुपर्नेमा जोड दिए।