• Menu

विश्व बैंकको २७ करोड ३४ लाख सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति

नेपाल प्रफिट

२०८१ असोज २०, ११:२४

विश्व बैंकको २७ करोड ३४ लाख सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति

तनहुँ । विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति गर्ने कामले गति लिएको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा लीलाचोक र व्यास नगरपालिकास्थित पराशर मार्ग स्तरोन्नतिको कामलाई तीव्रता दिइएको हो ।

शुक्लागण्डकी-४ दुलेगौडाबाट लिलाचोकसम्मको खण्डमा धमाधम स्तरोन्नति भइरहेको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए । उनले तोकिएको समयभित्र गुणस्तरीय काम सम्पन्न गराउन पालिकाले निरन्तर अनुगमन गरिरहेको बताए ।

पण्डितले भने, ‘नगरपालिकाको सबै ठूलो आयोजनाको काम सम्पन्न गर्न अनुगमनसँगै खबरदारी गरिरहेका छौँ । यो खण्ड कालोपत्रपछि यहाँका जनतालाई आवतजावतमा सहयोग पुग्नेछ ।’

यो सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग नगरपालिकाले २०८० सालचैत २५ गते सम्झौता गरेको थियो । विश्व बैंकको सहयोग र सरकारको अनुदानमा सञ्चालित सहरी शासन र पूर्वाधार परियोजना एनयुजिआइपी अन्तर्गत उक्त मोटरमार्ग ७.१ किलोमिटर दूरी कालोपत्र गर्न थालिएको नगरपालिकाका इञ्जिनियर तारापति भट्टराईले जानकारी दिए । उक्त ठेक्काको रकम २७ करोड ३४ लाख ७९ हजार ८ सय ३४ रहेको छ ।

उनले भने, ‘१५ महिनाभित्र काम सम्पन्न गर्नेगरी सम्झौता भएर काम अगाडि बढेको छ । नगरपालिकाले यो सडकलाई नगर गौरवको आयोजनाका रूपमा छनोट गरेको थियो ।’

भट्टराईका अनुसार शुक्लागण्डकी-४ दुलेगौडाबाट सुरु हुने कालोपत्रले शुक्लागण्डकी-८, ९ र १२ वडालाई जोड्छ । “उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र हुनेछ,’ उनले भने, ‘उकालो र गाह्रो केही ठाउँमा आरसिसी ढलान हुनेछ भने अन्य ठाउँमा नालासहितको कालोपत्र हुनेछ ।’

दुलेगौडास्थित बिपीचोक, हेल्थपोष्टचोक, पुल्चोक, घारी, तालबेँसी, मालेबगर हुँदै लीलाचोकसम्म कालोपत्र हुनेछ । सडकको चौडाइ दश मिटरको रहनेछ । यहाँ ५.५ मिटर कालोपत्र, कालोपत्रको दुवै छेउमा एक-एक मिटरको नाला निर्माण हुनेछ ।

शुक्लागण्डकी-४ दुलेगौडाबाट शुक्लागण्डकी-१२ लामागाउँ मोटरमार्ग १४ किलोमिटर छ । सडक कच्ची हुँदा हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या हुँदै आएको छ ।

यसैगरी विश्व बैंकको सहयोगमा व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिलाई तीव्र पारिएको छ । यो सडकले व्यास- ७, ९, १० र ११ जोड्छ । बुल्दीखोला-बेलटारी-फराकचौर-अधेरीभञ्ज्याङ-कुमालगाउँ-समता स्कुल-कलेस्ती सडक जोडिने उक्त खण्डअन्तर्गत १०.५५ किमी दूरी कालोपत्र हुनेछ ।

उक्त सडक स्तरोन्नति गर्न गत वैशाख १६ गते निर्माण कम्पनीसँग ४० करोड ८३ लाख ३५ हजार ९ सय २१ म सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । निर्माण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद २०८२ साल असारसम्म रहेको छ ।

१०.५५ किमी उक्त खण्डमा कालोपत्र, नाला तथा अन्य संरचना निर्माण गरिने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । उक्त सडकले व्यास-११ स्थित बुल्दीखोला, बेल्टारी, फराकचौर, व्यास-१० अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, व्यास-९ कुमालगाउँ, व्यास-७ समता स्कुल, कलेस्तीलगायत ठाउँ जोड्नेछ ।