• Menu

भकुण्डे-तेमाल मेच्छेपौवा बाटो खुल्यो, बीपी राजमार्गमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जाँदै

नेपाल प्रफिट

२०८१ असोज २०, १०:२४


काभ्रे । बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे- कानपुर- कोटतेमाल- पोखरी नारायणस्थान- मेच्छेपौवा सडक खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्चालन हुन थालेका छन् ।

यात्रु बसलाई पनि आजैदेखि सञ्चालनको अनुमति दिइएको तेमाल गाउँपालिका अध्यक्ष दलमान थोकरले बताए । तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ- सिन्दुरेटार- मुक्पाटार हुँदै सुनकोशी पुल भएर रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक पनि सञ्चालन भएको उनले जानकारी दिए ।

उक्त सडकमा हाललाई हलुका सवारीसाधन मात्र सञ्चालनको अनुमति स्थानीय प्रशासनले दिएको छ । बीपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारी साधनलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्‍याउने प्रयास भइरहेको मंगलटारस्थित इलाका प्रहरी कार्यालयका प्रमुख कृष्ण गिरीले बताए ।

बीपी राजमार्गमा फसेका सवारी साधनमध्ये १३ वटा वैकल्पिक बाटोबाट  काठमाडौँ पुगेका छन् । राजमार्गको रोशी गाउँपालिका-११ डम्फुपार्क तथा वडा नं ९ मंगलटारमा अलपत्र पाँच सयभन्दा बढी सवारी साधनलाई आजदेखि वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यतर्फ पठाइने जानकारी पनि उनले दिए ।