• Menu

फोहोरबाट मासिक १५ देखि २० हजारसम्म आम्दानी गर्दै महाकाली अस्पताल

नेपाल प्रफिट

२०८१ असोज १८, शुक्रबार १३:४६

फोहोरबाट मासिक १५ देखि २० हजारसम्म आम्दानी गर्दै महाकाली अस्पताल

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहोरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो ।

अस्पतालमा प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोत बनाएको छ । अस्पतालमा फोहरमैला व्यवस्थापन केन्द्र स्थापना गरेर फोहरलाई मोहरमा परिणत गरेको महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले बताए ।

‘अव्यवस्थित फोहरलाई फोहरमैला व्यवस्थापन केन्द्रमा लगेर पुनःप्रयोग गर्न मिल्ने र बिक्री गर्न मिल्ने छुट्याउँछौँ ।’ भट्टले भने, ‘यसले अस्पताल सरसफाइमा टेवा पुग्नुका साथै मासिक २० हजारसम्म आम्दानीसमेत हुने गरेको छ ।’

उनका अनुसार फोहोरमैला व्यवस्थापन केन्द्रबाट अस्पतालले मासिक १५ हजारदेखि २० हजारसम्म आम्दानी गर्ने गरेको छ । फोहर संकलन गरेर संक्रमण हुनसक्ने सामग्रीको निर्मलीकरण गर्ने र फोहोर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने सामग्री सबै छुट्याएर राखिने उनले बताए ।

‘कुहिने र नकुहिने तथा जोखिम र बिना जोखिमको सामग्री छुट्याएर बिक्री गर्ने गरिएको छ ।’ उनले भने,’अस्पतालमा एक महिनामा ७-८ क्विन्टल फोहोर उत्पादन हुने गरेको छ । यसमध्येको पुनःप्रयोग गर्न मिल्ने आधा भन्दाबढी फोहोर अस्पतालले बिक्री गर्ने गरेको छ ।’