• Menu

विपत पीडितलाई उद्योग वाणिज्य महासंघको सहयोग, अतिप्रभावित हरेक जिल्लालाई एक लाख

नेपाल प्रफिट

२०८१ अशोज १४, सोमबार १६:५२

विपत पीडितलाई उद्योग वाणिज्य महासंघको सहयोग, अतिप्रभावित हरेक जिल्लालाई एक लाख

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विपत पीडितलाई सहयोग घोषणा गरेको छ । महासंघले जिल्ला उद्योग वाणिज्य संघहरुमार्फत उपलब्ध गराउने गरी अतिप्रभावित हरेक जिल्लालाई एक/एक लाख रुपैयाँका दरले राहत रकम प्रदान गर्ने निर्णय गरेको हो ।

साथै, विपतको समयमा आ–आफ्नो तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन महासंघ कार्यकारिणी समिति सदस्यलगायत सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ, एसोसिएट एवं द्विराष्ट्रिय संघहरु एवं सम्पूर्ण उद्यमी व्यवसायी पनि महासंघले आग्रह गरेको छ ।

यसैगरी, बाढीपहिरोका कारण यातायात अवरुद्ध भएको यस घडीमा अत्यावश्यकीय सामानलगायतको आपूर्तिका लागि यथासम्भव सक्रिय रहन महासंघले सम्पूर्ण सदस्यमा अपिल गरेको छ ।

उद्धारका क्रममा आवश्यक उपकरणको सरकारबाट समेत माग भएको सन्दर्भमा यथासम्भव उद्धारकार्यमा संलग्न सरकारका निकायलाई उपलब्ध गराइदिन पनि महासंघले आग्रह गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महासंघले मुलुक विपतमा परेका बखत सधैँ अग्रभागमा रहेर सहयोग प्रदान गर्दै आएको छ ।

असोज १० देखिको अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति महासंघले गहिरो दुःख व्यक्त गरेको छ । महासंघले विपतमा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना पनि प्रकट गरेको छ । त्यस्तै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्