• Menu

झ्याप्ले खोला पहिरो अपडेट : मृतकको संख्या ३५ पुग्यो

नेपाल प्रफिट

२०८१ असोज १३, आइतबार १६:४२

झ्याप्ले खोला पहिरो अपडेट : मृतकको संख्या ३५ पुग्यो

धादिङ । धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्ले खोलामा पहिरोबाट आजमात्रै २१ जनाको शव निकालिएको छ । बिहानैदेखि खटिएको उद्धार टोलीले १७ पुरुष र चार जना महिलाको शव निकालेको हो । हालसम्म पहिरोमा ३५ जनाको शव निकालिएको छ ।

शनिबार रातिसम्म १४ वटा शव फेला परेकामा आज थप २१ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए ।

प्रहरीका अनुसार पहिरोमा ना४ख २२७० नम्बरको बस, बा२ख १३४५ नम्बरको माइक्रोबस (जम्बोहाइस) फेला परेको छ । लु१ज ४५७८ नम्बरको माइक्रोबस शनिबार फेला परेको थियो । अझै अन्य सवारी पनि भेटिन सक्ने आशंकामा अहिले पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

पहिरोमा भेटिएका सबै शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरी निरीक्षक सिलवालले बताए । शुक्रबार साँझदेखि त्रिभुवन राजपथको नौबिसे–नागढुंगा क्षेत्र पहिरो र लेदोले भरिएको छ ।

प्रतिक्रिया दिनुहोस्