• Menu

बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध

नेपाल प्रफिट

२०८१ असोज १३, आइतबार १४:५३

बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध

तनहुँ । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रुपमा रहेको बुद्धसिं मार्ग ३ दिनदेखि अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि एक दर्जनबढी स्थानमा पहिरो खस्दा उक्त मार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

गण्डकी प्रदेश सरकारले पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रुपमा यसलाई विकास गर्न प्रक्रिया अघि बढाइसकेको छ । पृथ्वीराजमार्गअन्तर्गत डुम्रे-आँबुखैरेनी हुँदै घुमाउनेसम्म पुग्न बुद्धसिं मार्गबाट करिब २५ किलोमिटर दूरी कम पर्ने बुद्धसिं मार्ग सरोकार समितिका संयोजक सिद्धान्त गर्जामगरले जानकारी दिए ।

पहिरोका कारण सुडे, बेलबास निउरोघारी, मास्दी, नाल्दी, खानीखोला ढाप, बरखोला, साराङघाट, तल्लो साराङघाट, प्यूघरलगायत १२ स्थानमा पहिरो खस्दा मार्ग अवरोध भएको उनले बताए ।

पहिराका कारण साराङघाट, मास्दीघाट क्षेत्रका बासिन्दाको जनजीवन बढी प्रभावित बनेको संयोजक गर्जामगरले जानकारी दिए । उनका अनुसार गाउँमा कोही बिरामी भएमा बन्दीपुर हुँदै राजमार्ग भएर दमौली पुर्‍याउनुपर्ने अवस्था छ ।

गर्जामगरले भने, ‘यथाशीघ्र मार्ग सञ्चालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको छ, आशा छ छिट्टै पहलकदमी हुनेछ ।’ पहिराले सेतीगङ्गा आधारभूत विद्यालयका आइसिटी र विज्ञान प्रयोगशालाका कक्षाकोठा पूर्ण रुपमा क्षति भएका विद्यालयका प्रधानाध्यापकसमेत रहेका उनले बताए ।

‘पहिरोले स्थानीय मंगलबहादुर गुरुङको घर पूर्ण रुपमा क्षति हुनुका साथै बर्जबहादुर गुरुङ र डुलबहादुर गुरुङको घरमा आंशिक क्षति भएको छ,’ उनले भने, ‘माथिबाट आएको पहिरोले करिब तीस रोपनी खेतबारी पूर्ण रुपमा नोक्सान भएको छ ।’

तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीमा निर्माण कम्पनीले करिब १० किमी खण्डमा ‘आक्सफाल्ट प्रविधि’ बाट कालोपत्र गर्न थालेको थियो ।

पूर्वाधार विकास कार्यालयले मैनाचुली-सफल जेभी काठमाडौँसँग २०८२ साल जेठ ३० सम्म गर्नेगरी २०७९ साल भदौ २७ मा सडक कालोपत्रका लागि सम्झौता भएको पूर्वाधार विकास कार्यालयकी सूचना अधिकारी एवं इञ्जिनियर धनमाया मिश्रले जानकारी दिइन् । उनका अनुसार गण्डकी प्रदेश सरकारले सो मार्गलाई प्राथमिकतामा राखेर गत आर्थिक वर्षमा ५ करोड बजेट विनियोजन गरेको थियो । चितवनको घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँको सीमानामा पुगेर फर्कन बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्