• Menu

झ्याप्लेखोलामा पुरिएको सवारी साधनबाट २५ शव निकालियो

नेपाल प्रफिट

२०८१ असोज १३, आइतबार १३:०३

झ्याप्लेखोलामा पुरिएको सवारी साधनबाट २५ शव निकालियो

धादिङ । धादिङ र काठमाडौँको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आइतबार बिहान ११ बजेसम्म २५ शव फेला परेका छन् । शनिबार रातिसम्म १४ शव निकालेको उद्धार टोलीले आज थप ११ शव निकालेको हो ।

शनिबार राति एक बालक, पाँच महिला र आठ पुरुषको शव निकालेको उद्धार टोलीले आज बिहान नौ पुरुष र दुई महिलाको शव निकालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिए ।

पुरिएका सवारीसाधन धुजाधुजा अवस्थामा रहेको र शव पनि छुट्टाछट्टै भेटिएकाले कुन सवारीसाधनको शव कुन हो भन्ने यकिन गर्न कठिन छ । पुरिएको अवस्थामा फेला परेका सवारीसाधन टुक्राटुक्रा बनेकाले नम्बर पहिचान गर्न कठिन भएको सूचना अधिकारी सिलवालले बताए ।

गोरखाबाट काठमाडौँ आउँदै गरेको ना४ख २२७० नम्बरको बसको भने यकिन भएको छ । एस्काभेटरले पहिरो खोतल्ने क्रममा बसको छतको डण्डीमा चालक मदन परियारको शव देखिएपछि बसको यकिन भएको यातायात व्यवसायी अर्जुन भट्टले जानकारी दिए ।

पहिरोले पुरिएको अवस्थामा फेला परेको सो बसमा मुग्लिनसम्म चालक दलका तीन र एक यात्रु रहेको भनिए पनि बीच बाटोबाट यात्रु चढाएको हुनसक्ने अनुमान छ ।

त्यस्तै चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौँका लागि छुटेको माइक्रोबस (जम्बो हाइस)पनि झ्याप्ले खोलाको पहिरोमा पुरिएको छ । त्यसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले पहिरोमा अझ थुप्रै शव भेटिन सक्ने आशंका गरेर उद्धार टोलीले खोजीकार्य तीव्र पारेको छ ।

शुक्रबार अपराह्न करिब २ बजे मनकामना माई यातायात प्रालिमार्फत सञ्चालित बा२ख १३४५ नम्बरको बस सम्पर्कविहीन रहेको प्रालिका अध्यक्ष नरबहादुर रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्