• Menu

जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द

नेपाल प्रफिट

२०८१ असोज १३, आइतबार १२:३१

जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत आयोजनाको जलाशय इन्द्रसरोवर तालको ढोका बन्द गरिएको छ ।

जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान आयोजनाको दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो ।

बाँध खोलेर जलाशयको पानीलाई निकाशा दिएपछि जलसतह केही घटेकाले आइतबार  ढोका बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत आयोजनााका प्रमुख तारादत्त भट्टले राससलाई जानकारी दिए ।

उनका अनुसार कुलेखानीको जलाशयमा कुल एक हजार ५ सय ३० मिलिमिटर पानी भण्डारण गर्ने क्षमता भएपनि शनिबार एक हजार ५ सय ३१ मिलिमिटर पानी भरिएर खतराको संकेत देखिएपछि दुई ढोका खोलिएको थियो ।

शनिबार साँझदेखि वर्षा रोकिएको भन्दै ढोका खोलेर पानी बाहिर निकालिएकाले जलाशयमा जलसतह घटेको प्रमुख भट्टले जानकारी दिए । उनका अनुसार अहिले जल विद्युत  उत्पादन पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ ।

यसैबीच वर्षा रोकिएपछि पहिरोका कारण अवरुद्ध भएको हेटौँडा-काठमाडौँ र हेटौँडा-सिन्धुली जोड्ने सडकमा आइतबार बिहानैदेखि पहिरो पन्छाउने काम सुरु भएको छ ।

सडक विभाग र सुरक्षा निकायले हेटौँडा-काठमाडौँ जोड्ने कान्ति लोकपथ र भिमफेदी-दक्षिणकाली खण्डमा बिहानैदेखि पहिरो पन्छाउने काम गरिरहेका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले जानकारी दिए । त्यस्तै मदनभण्डारी लोकमार्गअन्तर्गत विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर आवागमन नियमित सञ्चालन गर्ने प्रयास भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्