• Menu

शनिश्चरे नगर अस्पतालमा सेवा लिनेको संख्या दोब्बरले वृद्धि

नेपाल प्रफिट

२०८१ असोज ११, शुक्रबार १६:०८


झापा । जिल्लाको अर्जुनधारास्थित शनिश्चरे नगर अस्पतालमा प्रसूति सेवा लिनेको संख्या दोब्बरले वृद्धि भएको छ ।

नगर अस्पतालमा आमा सुरक्षाका कार्यक्रमसँगै शल्यक्रियासहितको प्रसूति सेवा सुरु भएपछि यहाँ प्रसूति सेवा लिनेको सङ्ख्या दोब्बरले वृद्धि भएको हो । नगर अस्पतालमा आर्थिक वर्ष २०८१/८२ को हालसम्म ७६ जनाले प्रसूति सेवा लिएको अस्पतालका अभिलेख शाखा प्रमुख किरणकुमार खरेलले जानकारी दिनुभयो । आव २०८०/८१ मा ८३ जनाले सेवा लिएका थिए ।

आमा सुरक्षा नमूना कार्यक्रम अन्तर्गत संघीय सरकारबाट आवश्यक अत्याधुनिक उपकरण प्राप्त भएपछि प्रसूति गराउन आउने संख्या उल्लेख्य वृद्धि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. योगेश चेम्जोङले बताए ।

‘दक्ष जनशक्तिसँगै पूर्वाधार पर्याप्त भएकाले पनि आकर्षण बढ्दै गएको छ,’ उनले भने, ‘सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने प्रयास गरिरहेका छौँ, सेवाग्राहीको विश्वास पनि बढिरहेको छ ।’

गत आवमा नगर अस्पतालबाट ७९ हजार ८ सय ६२ जनाले बहिरंग सेवा लिएका थिए भने चालु आवको भदौसम्म १७ हजार ३ सय ३४ जनाले सेवा लिएको अस्पतालले जनाएको छ ।

हालै नगर अस्पताललाई सङ्घीय सरकारले ७६ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेको छ । अस्पतालको सेवाको स्तरवृद्धिका लागि संघीय सरकारले अत्याधुनिक प्रसूति शय्या, इसिजी मेसिन, फोटोथेरापी मेसिन एक-एक थान, बिरामी शय्या नौ थान, एक्स–रे मेसिन एक थान, बिपी सेट पाँच थान, ल्याब्रोटेरी माइक्रोस्कोप एक थान, सिटीजी मेसिन एक थान र पोर्टेबल भिडियो एक्स–रे मेसिन एक थान प्रदान गरेको हो ।

नगर अस्पतालको भवन निर्माणका लागि सरकारले चालु आवमा ७  करोड बजेट विनियोजन गरेको उनले जानकारी दिए । नयाँ भवन सञ्चालनमा आएपछि सेवा विस्तार हुने उनले बताए । अस्पतालमा दुई चिकित्सक अत्यावश्यक रहेकाले मन्त्रालयसँग माग गरिएको नगरप्रमुख गोम्देनले बताए ।

प्रतिक्रिया दिनुहोस्