दाङ । घोराही उपमहानगरपालिका-१६ बाहुनडाँडामा रहेको गगटे तालमा स्थानीय वेदबहादुर ओलीले मोटरबोट सञ्चालन गरेसँगै स्थानीयको आम्दानी बढेको छ ।
बोटिङ गर्न आउनेले स्थानीय उत्पादन, परिकार खपत गरेपछि उत्पादनमा वृद्धि भएको हो । ४० वर्षीय ओलीले मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालन पनि गरेका छन् । उनको फर्मलाई आवश्यक पर्ने दानालगायत सामग्री आपूर्तिबाट पनि स्थानीयको आम्दानी बढोत्तरीमा टेवा पुगेको छ ।
मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालनबाट प्रशस्त आम्दानी हुने गएको उनले बताए । ‘मेरो सानो रिसोर्ट पनि भएकाले बोटिङ गर्न आउनेहरू त्यहाँ पनि पुग्छन् यसले व्यवसाय प्रर्वधन भएको छ,’ उनले भने । सार्वजनिक बिदा र शनिबार बढी आन्तरिक पर्यटक आउने गरेका, गर्मीका बेला दैनिक २५-३० जना बढीले बोटिङ गर्ने तथा अन्य व्यवसायबाट आफूले मासिक एक लाख ५० आम्दानी गर्दै आएको उद्यमी ओलीले बताए ।
उनले भने, ‘मेरो व्यवसायमा स्थानीय २ जनालाई रोजगारी दिएको छुभने घरका ५ जनाले पनि काम गर्दै आएका छौँ ।’ बोटिङ गर्न आउनेसँग प्रतिव्यक्ति एक सय शुल्क लिने गरेको जानकारी दिँदै उनले यसमा हालसम्म एक करोड १० लाख लगानी गरेको र भविष्यमा व्यवसाय विस्तार गर्ने योजना सुनाए ।