गुल्मी । जिल्लाका केही विपन्न परिवारका मानिस निहुरो बिक्री गरेर घरमा नुनतेलको जोहो गरिरहेका छन् । भान्सामा तरकारी र अचारका रूपमा निहुरो खाने गरिन्छ । उनिउँ प्रजातिको यो वनस्पति डाँठे, झुसे र कान्ले गरी ३ प्रकारको निहुरो यहाँमा पाइन्छ ।
वर्षातको समयमा लेक क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका मानिसको दिनचर्या दिनभर जंगल र पाखामा निहुरो टिपेर बित्ने गर्छ । जिल्लाको पश्चिमी भेगका जंगल र खोल्साहरूमा प्रशस्त मात्रमा निहुरो पाइन्छ ।
दुई दिनको समय लगानी गरेर राम्रै आम्दानी गर्न सकिने भएका कारण त्यस क्षेत्रका विपन्न परिवार वर्षौँदेखि यो पेसा गर्दै आएका छन् । उनीहरू आफूले अघिल्लो दिन टिपेको निहुरो दोस्रो दिन बिहानै बिक्रीका लागि सदरमुकाम तम्घाससम्म आउने गर्दछन् ।
गुल्मीको अर्जै, घमिर, अर्खाबाङ, नेटा तथा ह्वाङदीलगायत जंगलमा प्रशस्त मात्रमा पाइने निहुरोले विपन्न परिवारको आयआर्जनमा राम्रै सहयोग पुर्याएको छ । जंगलबाट टिपेर ल्याएका चिजको गाउँमा खासै महत्व नहुने भएका कारण उनीहरूले टिपेको निहुरो डोकोमा बोकेर बिक्री गर्न सदरमुकाम तम्घाससम्म ल्याउने गर्छन् । उत्पादन गर्न कुनै लगानी नलाग्ने भएका कारण जंगलमा एक दिन गरेको मेहनतका कारण राम्रो आम्दानी गरिरहेका छन् ।
उनीहरूले जंगलबाट टिपेर ल्याएको निहुरोलाई स-साना मुठा बनाएर बिक्रीका लागि बजारसम्म पुर्याउँछन् । एउटा डोकामा एक सय ५० मुठासम्म अटाउँछन् । यसरी एउटा मुठाको मूल्य सदरमुकाम तम्घाससम्म ल्याइपुर्याउँदा साना मुठाको ३० देखि ठूला मुठाको ५० सम्ममा बिक्री गर्ने गरेको गुल्मी धुर्कोट गाउँपालिका-५ की चन्द्रकली कुमाल बताउँछिन् ।
‘दिनभर जंगलमा जानुपर्यो, पानी परेका बेलामा पनि रुझ्दै टिप्नुपर्छ, जंगलमा जुका लागेर हैरान हुन्छ, जंगलमा सित्तै भेटिन्छ भनेर के गर्नु दुःख त कति छ कति,’ उनले भने ।
चन्द्रकलीमात्र होइन, उनीजस्तै जंगलबाट टिपेर ल्याएको निहुरो बोकेर सदरमुकाम आइपुगेकी मीना राना आफूले ल्याएको निहुरो बिक्री गरेर घर फर्कँदा नुनतेल र साबुन किनेर लैजाने बताउँछिन् ।
उनले भनिन्, ‘घर खर्च चलाउन ठूलो राहत पुगेको छ ।’ बर्खाको समयमा जंगलदेखि दुई दिनको समय खर्चेर सदरमुकामसम्म ल्याइपुर्याउन त्यति सहज भने छैन । तर पनि उनहरूजस्तै अन्य व्यक्ति असारबाट भदौ अन्तिम सातासम्म यसरी जंगलबाट टिपेर ल्याएको तरकारीको डोको बोकेर सदरमुकामको बजारसम्म आइपुग्छन् ।
गुल्मीको निहुरो सदरमुकाम तम्घासमात्र होइन, अर्घाखाँचीदेखि बुटवलका बजारका तरकारी पसलसम्म पुग्ने गर्छ । यहाँको निहुरोको बजारमा राम्रो माग छ । विषादी प्रयोग गरेका तरकारी खाँदाखाँदै हैरान परेका उपभोक्ताका लागि पहाडको लेकबाट टिपेर ल्याएको निहुरो खोजीखोजी लैजाने गर्छन् । यसबाट अचार, तरकारी र चुकौनीलगायत परिकार बनाउन सकिने र निकै स्वादिलो हुने भएका कारण बजारमा यस्ता तरकारीको माग हुने गरेको छ ।
निहुरो बिक्री गरेर यस क्षेत्रका विपन्न परिवारले याममा एक जनाले २० देखि ३० हजारसम्म आम्दानी गर्छन् । सधैँभरि उस्तै प्रकारको तरकारी खाएर हैरानी परेकालाई नयाँ स्वाद लिन चाख्न निहुरो निकै मन पराउँछन । हिजोआज कोसेलीका रुपमा समेत निहुरो बढी मात्रामा बुटवलदेखि काठमाडौँसम्म पठाउने गरिन्छ ।