• Menu

एनपीएल : विराटनगरसामु चितवनको १५८ रनको लक्ष्य, मलानको अर्धशतक

नेपाल प्रफिट

२०८३ कात्तिक १०, मंगलबार १४:२४

एनपीएल : विराटनगरसामु चितवनको १५८ रनको लक्ष्य, मलानको अर्धशतक

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विराटनगर किंग्ससामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १५७ रन जोडेको हो ।

चितवनको इनिङ्समा ओपनर मलानले मुख्य भूमिका निर्वाह गरे । उनले ५१ बलमा ७० रन बनाउने क्रममा ५ छक्का र ५ चौका प्रहार गरे । जारी एनपीएलमा अर्धशतक बनाउने पहिलो खेलाडीसमेत बनेका मलानले देव खनालसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। देव १५ बलमा १२ रन बनाएर आउट भए ।

विराटनगरका चरिथ असलंकाले चितवनको पहिलो विकेट लिएका थिए। त्यसपछि अर्जुन साउद पनि लामो समय क्रिजमा टिक्न सकेनन् । उनले ९ बलमा ३ रन मात्रै बनाए। ११औँ ओभरको अन्तिम बलमा एन्जेलो म्याथ्युजको बलमा सन्दीप लामिछानेले उनलाई क्याच समातेका थिए ।

चितवनले १३औँ ओभरमा मलानलाई गुमायो। आन्द्रे रसेलको बलमा उनी आउट भएपछि कप्तान रवि बोपारा र डान मोस्लीले टोलीको रन गति बढाए। यी दुई ब्याटरले तेस्रो विकेटका लागि अविजित ६७ रन जोड्दै चितवनलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्‍याए ।

बोपाराले ३२ रन बनाउँदा मोस्ली २९ रनमा नटआउट रहे । दुवैको संयमित ब्याटिङका कारण चितवनले अन्तिम ओभरसम्म थप विकेट नगुमाई इनिङ्स समाप्त गरेको हो।

अब विराटनगर किंग्सले जितका लागि २० ओभरमा १५८ रन बनाउनुपर्नेछ ।