• Menu

भोटेकोशी बाढी पीडितका लागि पशुपतिनाथ फाउन्डेसनद्वारा प्रधानमन्त्री राहत कोषमा डेढ करोड हस्तान्तरण

नेपाल प्रफिट

२०८३ कात्तिक १०, मंगलबार १४:०१

भोटेकोशी बाढी पीडितका लागि पशुपतिनाथ फाउन्डेसनद्वारा प्रधानमन्त्री राहत कोषमा डेढ करोड हस्तान्तरण

काठमाडौं । भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा सक्रिय पशुपतिनाथ फाउन्डेसन लस एन्जलसको पहलमा डेढ करोड आर्थिक सहयोग संकलन गरी प्रधानमन्त्री राहत कोषमा पठाइएको छ ।

फाउन्डेसनका अध्यक्ष विमल श्रेष्ठका अनुसार अमेरिकामा रहेका नेपाली समुदायबाट संकलित ९९ हजार ६४ अमेरिकी डलर सहयोग संकलन गरिएको थियो । उक्त रकमबाट बैंक शुल्क कटाएर ९७ हजार ८७५ अमेरिकी डलर प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको उनले जानकारी दिए ।

नेपाली राजदूतावास वासिङ्टन डिसीका अधिकारी सम्मिलित जुममार्फत आयोजित कार्यक्रममा फाउन्डेसनका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थितिमा फाउन्डेसनका अध्यक्ष श्रेष्ठले उक्त रकम प्रधानमन्त्री राहत कोषमा पठाइएको घोषणा जानकारी गराइएको छ ।

प्रवासमा रहेर पनि मातृभूमिमा परेको विपद्लाई आफ्नै पीडा सम्झँदै सहयोग गर्नु नेपालीको देशप्रेम, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण भएको फाउन्डेसनले जनाएको छ । यसअघि पनि फाउन्डेसनले भूकम्पका बेला राहत तथा सहयोगका कार्यक्रममा सहयोग पुर्‍याएको थियो ।

विश्वभर नेपाली संस्कृति, सम्पदा तथा भाषाको संरक्षण गर्दै पशुपतिनाथ र बुद्ध भूमि नेपालको पहिचान प्रवर्धन गर्ने लक्ष्यका साथ स्थापित फाउन्डेसनले क्यालिफोर्नियामा मन्दिर, बुद्ध स्तूप र एकीकृत सांस्कृतिक केन्द्र निर्माण अघि बढाएको छ । रासस