काठमाडौं । काठमाडौं उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ मा ७५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गएको २४ घण्टामा काठमाडौंका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये ६० पुरुष र १४ जना महिला छन । त्यस अपरेसनमा अन्य एक जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी दिए ।
उनका अनुसार सार्वजनिकस्थल, सार्वजनिक यातायातका साधन, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आसपासका क्षेत्रलगायत नागरिकको बढी आवतजावत हुने स्थानलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो ।
प्रहरीले सार्वजनिकस्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुलहुज्जत गर्ने, दुव्र्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि सञ्चालन गर्ने तथा गुण्डागर्दीजस्ता आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।
उक्त अभियानका क्रममा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड तथा सजाय तोकिएका आठ जना कसुरदारसमेत पक्राउ परेका छन् । त्यसैगरी विभिन्न मुद्दामा अनुसन्धान तथा कानुनी कारबाहीका क्रममा फरार रहेका चार जना प्रतिवादीलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ । त्यस्तै अदालतबाट सजाय तोकिएका र चालु मुद्दामा फरार रहेका गरी १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार स्वीप अपरेसनको मुख्य उद्देश्य सार्वजनिकस्थलमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नु, फरार कसुरदार तथा प्रतिवादीको खोजी गर्नु र नागरिकलाई सुरक्षित वातावरणमा दैनिक गतिविधि सञ्चालन गर्न सहयोग पुर्याउनु हो ।
विशेषगरी सार्वजनिक यातायात, भीडभाड स्थान तथा सेवाग्राहीको बढी उपस्थिति रहने क्षेत्रमा हुने चोरी, लुटपाट, दुर्व्यवहार, बिचौलियाको गतिविधि र गुण्डागर्दी नियन्त्रणलाई अभियानमा प्राथमिकता दिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीले पक्राउ परेका व्यक्तिको संलग्नता तथा उनीहरूमाथि लागेका आरोपका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ । रासस