काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि अझै चार हजार २१६ जना सम्पर्कविहीन रहेका छन्। बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सुरक्षा निकायले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना रहेका छन्।
त्यस्तै, भन्सार कार्यालयका १४, अध्यागमन कार्यालयका तीन तथा रसुवाका करिब ८६५ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार नुवाकोटका एक हजार ५५८, विदेशी नागरिक ५८३ तथा पर्यटकसँग गएका १६४ जना नेपाली पनि सम्पर्कविहीन छन्। जलविद्युत् आयोजनामा कार्यरत करिब ९०० जना, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन, क्वारेन्टिन कार्यालयका तीन, जनप्रतिनिधि सात, स्थानीय तह तथा मातहतका कर्मचारी ३२ र निजी विद्यालयका एक शिक्षक पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
२१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ।
खोज तथा उद्धारका लागि नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार २८७ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ सुरक्षाकर्मी खटिएका छन्।
पाँच हजारभन्दा बढीको उपचार
बाढीबाट प्रभावितमध्ये हालसम्म पाँच हजार १३५ जनाको उपचार गरिएको प्राधिकरणले जनाएको छ। विभिन्न अस्पतालमा ३०१, नेपाली सेनाबाट तीन हजार २०६ र सशस्त्र प्रहरी बल नेपालबाट एक हजार ६२८ जनाले स्वास्थ्य उपचार सेवा पाएका छन्।
हाल तीन हजार ९४८ जनालाई होल्डिङ सेन्टरमा राखिएको प्राधिकरणले जनाएको छ।
बाढीमा परी हालसम्म एक हजार २५२ जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८, तनहुँमा ३८ र चितवनमा ३५५ जनाको शव फेला परेको छ।
हवाई उद्धारलाई प्राथमिकता
दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा उद्धार र राहत सामग्री पुर्याउन नेपाली सेनाले हवाई उद्धारलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ।
सेनाका अनुसार हालसम्म चार हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको हवाई उद्धार गरिएको छ। खोज तथा उद्धारका क्रममा नेपाली सेनाले हालसम्म ७१५ पटक हवाई उडान गरेको छ। बुधबार मात्रै सेनाले २५ वटा हवाई उडान सञ्चालन गरेको प्राधिकरणले जनाएको छ।
निजी क्षेत्रबाट समेत हालसम्म १२९ वटा हवाई उडानमार्फत उद्धार तथा राहत कार्यमा सहयोग पुगेको छ।
सडक सम्पर्क विच्छेद भएका तथा दुर्गम क्षेत्रमा हवाई माध्यमबाट नागरिकको उद्धारसँगै राहत सामग्री पुर्याउने काम जारी रहेको प्राधिकरणले जनाएको छ।
भोटेकोशी नदीमा आएको बाढीबाट एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय निरन्तर उद्धार, उपचार तथा राहत व्यवस्थापनमा सक्रिय छन्।
अझै चार हजारभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी तथा उद्धारलाई थप तीव्र बनाइएको प्राधिकरणले जनाएको छ।