• Menu

नारायणीमा भेटिएका २१६ शवमध्ये १५९ को व्यवस्थापन, १७ जनाको मात्रै भयो पहिचान

नेपाल प्रफिट

२०८३ भदौ १६, मंगलबार १२:४३

नारायणीमा भेटिएका २१६ शवमध्ये १५९ को व्यवस्थापन, १७ जनाको मात्रै भयो पहिचान

नवलपरासी । भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को नारायणी नदीमा भेटिएका शवमध्ये १५९ वटा शवको व्यवस्थापन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार जिल्लामा हालसम्म २१६ वटा शव फेला परेका छन् । तीमध्ये १५९ वटा शवको व्यवस्थापन गरिएको हो ।

पहिचान हुन नसकेका शवलाई जिल्लाका विभिन्न अस्पतालमा राखिएपछि स्थानीय सामुदायिक वनमा जमिनमुनि गाडेर अस्थायी रूपमा व्यवस्थापन गरिएको पण्डितले जानकारी दिए । उनका अनुसार कावासोती नगरपालिकाको ज्योतिकुञ्ज सामुदायिक वन र देवचुली नगरपालिकाको दिव्य मध्यवर्ती सामुदायिक वनमा शव व्यवस्थापन गरिएको छ ।

व्यवस्थापन गरिएका शवमध्ये २९ महिला, ४७ पुरुष, सात बालक, सात बालिका तथा ६९ वटा मानव अङ्ग रहेका छन् ।

जिल्लामा हालसम्म ४७ महिला, ७३ पुरुष, ११ बालक र १५ बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै, खुट्टा, हात, छाती, शरीरको बायाँ भाग, पेट, टाउको तथा कम्मरमाथिको भागलगायत ७० वटा मानव अङ्गसमेत फेला परेका छन् ।

१७ शवको पहिचान

नवलपुरमा भेटिएका शवमध्ये हालसम्म १७ वटा शवको पहिचान खुलेर आफन्तलाई हस्तान्तरण गरिएको छ ।

पहिचान भएका व्यक्तिमा मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका २४ वर्षीय सुमन गोले र ३६ वर्षीय उद्धव खड्का, गोरखा पालुङटार-५ की ४२ वर्षीया सुजाता कौडाल, ५१ वर्षीया कमला देवकोटा र ४० वर्षीय केदार पण्डित रहेका छन् ।

त्यस्तै, चितवन माडी-७ का २८ वर्षीय विमल काफ्ले, अर्घाखाँची पाणिनी-७ का ४५ वर्षीय नारायणबहादुर थापा, नवलपरासी (बर्दघाट-सुस्तापश्चिम) सुस्ता-१ का ३७ वर्षीय यादव भण्डारी, धादिङ खनियावास-५ का ४२ वर्षीय संजोग घर्तीमगर र नुवाकोट बिदुर-७ की ५६ वर्षीया शारदा ढकालको पनि पहिचान खुलेको प्रहरीले जनाएको छ ।

नुवाकोट बिदुर-८ का २८ वर्षीय विशाल आलेमगर, बिदुर-१० का पाँच वर्षीय प्रतिन्स तामाङ, सप्तरी खड्क-५ का २८ वर्षीय सन्तोष चौधरी, काभ्रेपलाञ्चोक पाँचखाल-६ का ४६ वर्षीय डिगबहादुर कायस्थ, काठमाडौं बौद्धका ३४ वर्षीय राजु सुनार, रसुवा आमाछोदिङमो-३ की ३४ वर्षीया हीमा लोप्चन र सिन्धुपाल्चोक जुगल-५ का २१ वर्षीय वीरबहादुर श्रेष्ठको शवसमेत पहिचान भइसकेको छ ।

पहिचान खुलेका शवको आवश्यक प्रक्रिया पूरा गरी परिवारलाई जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए ।

प्रहरीका अनुसार केही शव आफन्तले प्रहरी कार्यालयमा राखिएका तस्बिर हेरेर पहिचान गरेका थिए । केही घटनास्थलमै पुगेर, प्रहरीको वेबसाइटमा राखिएका तस्बिर हेरेर तथा शरीरमा रहेको ट्याटुका आधारमा समेत पहिचान गरिएको थियो ।

४० शव व्यवस्थापन गर्न बाँकी

नवलपुरमा फेला परेका शवमध्ये अझै ४० वटा शव व्यवस्थापन गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

व्यवस्थापन गर्न बाँकी शवमध्ये १४ महिला, १४ पुरुष, तीन बालक, आठ बालिका र एक मानव अङ्ग रहेको सूचना अधिकारी पण्डितले जानकारी दिए ।

पहिचान खुल्न नसकेका शवको व्यवस्थापन तथा सम्भावित रूपमा आफन्तबाट पहिचान हुनसक्ने अवस्थालाई ध्यानमा राखी प्रहरीले विवरण संकलन तथा अभिलेखीकरणको कामसमेत गरिरहेको जनाएको छ ।