• Menu

त्रिशूली-३ ‘ए’ को सुरुङ खोल्न विस्फोट गराइयो, जलविद्युत सुरुङहरूमा खोजी कार्य जारी

नेपाल प्रफिट

२०८३ भदौ १५, सोमबार १३:०६

त्रिशूली-३ ‘ए’ को सुरुङ खोल्न विस्फोट गराइयो, जलविद्युत सुरुङहरूमा खोजी कार्य जारी

काठमाडौं । भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्र पारिएको छ ।

नेपाली सेनाको कमाण्डमा विशेषज्ञसहितको टोलीले विद्युत आयोजनाका सुरुङलाई केन्द्रित गरी तीन दिनदेखि खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली-३ ‘बी’को सुरुङमा विज्ञसहितको फौज खटिई खोज तथा उद्धार जारी छ ।

विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको सुरुङभित्र करिब १०० मिटर प्रवेश गरी हराइरहेका व्यक्तिको खोजी गरिरहेको छ । त्यसक्रममा सुरुङभित्रको भाग हिलो माटोले पुरिएको पाइएको र त्यहाँबाट दुई वटा शव संकलन गरिएको सेनाले जनाएको छ ।

माथिल्लो त्रिशूली-१ मा टनेलभित्र करिब ३०० मिटरसम्म प्रवेश गरी खोजी गरिएको र त्यहाँबाट एउटा शव संकलन गरिएको छ । यस्तै लाङटाङ आयोजनाको सुरुङमा खोज तथा उद्धार भइरहेको सेनाले जनाएको छ ।

त्रिशूली-३ ‘ए’ मा आज बिहान करिब २ बजे विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खोल्ने काम गरिएको थियो । त्यहाँ दुई वटा एक्स्काभेटरमार्फत १० मिटर मुनि प्वाल बनाउने, सुरुङभित्रको पानी, हिलो र लेदोलाई सफा गर्ने काम जारी छ ।

बाढीबाट प्रभावित क्षेत्रका जङ्ल, डाँडा, खोला र वस्ती इलाकामा उद्धारको आवश्यकता मूल्यांकन गर्न पैदल गस्ती जारी रहेको निर्देशनालयले जनाएको छ ।

सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार स्याफ्रुबेँसी इलाकामा राहत तथा रासन वितरणसँगै लाङटाङ हाइड्रो इलाकामा निरीक्षण गरिएको छ । रसुवाको धुन्चे र नुवाकोटको त्रिशूलीमा सेनाले स्थापना गरेको आपतकालीन उपचार केन्द्रमा हालसम्म दुई हजार ६३२ ले स्वास्थ्य सेवा लिएका छन् ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका प्रभावित क्षेत्रमा आठ हजार ९०० भन्दा बढी फौज परिचालित भएका छन् ।

सुरक्षा फौजले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन एवम् आपतकालीन उपचारलाई जारी राखेका छन् । हालसम्म करिब २३ हजार १९४ किलो राहत सामग्री धुन्चेलगायत प्रभावित इलाकामा हेलिकप्टरबाट ढुवानी गरिएको सेनाले जनाएको छ । यही भदौ १० देखि आजसम्म सेनाले ३३८ विदेशीसहित कुल तीन हजार ५९६ जनाको उद्धार गरेको छ ।