
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको चारदिने भ्रमणमा आइतबार अपराह्न यहाँ आउँदै छन् ।
राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रधान हुने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । भोलि नै प्रधानसेनापतिद्वयबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने कार्यक्रम छ ।
नेपाल र भारतबीचको सैन्य सम्बन्ध लामो समयदेखि कायम रहेको घनिष्ठ र ऐतिहासिक सम्बन्धमध्ये एक हो। दुवै देशका सेनाबीच उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास, तालिम तथा अनुभव आदानप्रदान हुँदै आएको छ। विशेषतः दुवै देशका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्पराले दुई देशका सेनाबीचको विशेष सम्बन्धलाई प्रतिबिम्बित गरेको छ ।
नेपालका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी र भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा सन् १९५० देखि सुरु भएको हो । यसलाई नेपाल-भारतबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सम्मानको महत्वपूर्ण प्रतीकका रूपमा लिइन्छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal