• Menu

झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका अधिकांश मुद्दा फैसलाभन्दा मिलापत्रमै टुंगिए

नेपाल प्रफिट

२०८३ साउन २१, १२:४३

झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका अधिकांश मुद्दा फैसलाभन्दा मिलापत्रमै टुंगिए

झापा । सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः आपसी सहमतिमै छुट्टिने गरेको झापा जिल्ला अदालतको तथ्यांकले देखाएको छ ।

पछिल्लो तीन आर्थिक वर्षमा अदालतमा दर्ता भएका सम्बन्धविच्छेदका तीन हजार नौ सय मुद्दामध्ये दुई हजार तीन सय ६० मिलापत्रमार्फत टुंगिएका छन् । बाँकी एक हजार पाँच सय ४० मुद्दामा अदालतले फैसला गरेको छ ।

झापा जिल्ला अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतका अनुसार सम्बन्धविच्छेदको निवेदन दर्ता भएपछि अदालतले कानुनबमोजिम दम्पतीलाई मेलमिलाप र आपसी सहमतिका लागि अवसर प्रदान गर्ने गर्छ । न्यायाधीश तथा मेलमिलापकर्ताको पहलमा अंश, परिपूरण, सन्तानको अभिभावकत्वलगायत विषयमा सहमति जुटेपछि धेरै मुद्दा मिलापत्रमार्फत नै टुंगिने गरेका छन् ।

उनका अनुसार मिलापत्रबाट मुद्दा टुंँगिदा लामो अदालती प्रक्रिया, अतिरिक्त खर्च र समयको बचत हुनुका साथै दुवै पक्षको सहमतिमै वैवाहिक सम्बन्धको अन्त्य हुने भएकाले पछिल्लो समय यसप्रति आकर्षण बढेको छ । बालबालिकाको भविष्य, पारिवारिक दायित्व र सामाजिक सम्बन्धलाई ध्यानमा राखेर पनि धेरै दम्पती अदालतको अन्तिम फैसला पर्खनुभन्दा सहमतिमै पुग्ने गरेका छन् ।

अदालतको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै एक हजार तीन सय ७३ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । तीमध्ये आठ सय १६ मुद्दा मिलापत्रबाट टुंगिएका छन् भने तीन सय ७९ मुद्दामा अदालतले फैसला गरेको छ ।

वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपयोग, पारिवारिक विवाद तथा घरेलु हिंसाका कारण सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएको पाइन्छ ।