काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सप्तरीको खड्क नगरपालिका–पनसेरामा निर्माण सम्पन्न गरेको ३३/११ केभी क्षमताको नयाँ सबस्टेसन सञ्चालनमा ल्याएको छ। बुधबार साँझदेखि सञ्चालनमा आएको सबस्टेसनले सप्तरीका विभिन्न क्षेत्रमा विद्युत आपूर्तिको गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ ।
करिब १२ करोड रुपैयाँको लागतमा निर्माण गरिएको ६/८ एमभीए क्षमताको उक्त सबस्टेसनसँगै १० किलोमिटर लामो ११ केभी प्रसारण लाइन पनि निर्माण गरिएको छ। यसबाट खड्क नगरपालिका र सुरुंगा नगरपालिकाअन्तर्गत कदमाहा, लालपट्टा, कल्याणपुरलगायतका क्षेत्रमा रहेका करिब १५ हजार विद्युत उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार नयाँ सबस्टेसन सञ्चालनमा आएपछि ती क्षेत्रमा लामो समयदेखि देखिँदै आएको कम भोल्टेज, बारम्बार लाइन ट्रिप हुने तथा विद्युत आपूर्तिमा अवरोध आउने समस्या उल्लेखनीय रूपमा घट्नेछ। साथै, भोल्टेज स्थिर भई उपभोक्ताले थप भरपर्दो र गुणस्तरीय विद्युत सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मधेश प्रदेशमा विद्युत सेवाको गुणस्तर सुधारका लागि यो महत्वपूर्ण उपलब्धि भएको बताए । उनले सरकारको लक्ष्य विद्युत उत्पादन बढाउने मात्र नभई उत्पादन भएको विद्युत देशका प्रत्येक घर, उद्योग र व्यवसायसम्म गुणस्तरीय तथा विश्वसनीय रूपमा पुर्याउने रहेको उल्लेख गरे ।
मन्त्री श्रेष्ठले प्रसारण तथा वितरण प्रणालीलाई आधुनिक, सुरक्षित र विश्वसनीय बनाउने अभियान देशभर तीव्र गतिमा अघि बढिरहेको बताउँदै नागरिकका गुनासालाई समाधानमा रूपान्तरण गर्ने सरकारको प्रतिबद्धता कायम रहने स्पष्ट पारे ।