• Menu

झापामा एकै वर्ष ३७८ जनाले पाए आमाको नामबाट वंशजको नागरिकता

नेपाल प्रफिट

२०८३ साउन १४, ११:१९

झापामा एकै वर्ष ३७८ जनाले पाए आमाको नामबाट वंशजको नागरिकता

झापा । झापाका प्रशासनिक निकायहरूबाट गत आर्थिक वर्ष २०८२/८३ मा २४ हजारभन्दा बढी नागरिकता र सोही हाराहारीमा राहदानी वितरण गरिएका छन् ।

जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय दमक र गौरीगन्जबाट गरी कुल २४ हजार आठ सय ५१ जनाले नागरिकता र २४ हजार चार सय ६६ जनाले राहदानी प्राप्त गरेका हुन् । नागरिकता लिने र राहदानी बनाउनेको संख्या लगभग बराबरी हुनुले जिल्लामा युवा वर्गको वैदेशिक रोजगारी तथा उच्च शिक्षाका लागि विदेशिने आकर्षण कायमै रहेको देखाउँछ ।

गत आवमा जिल्ला प्रशासनबाट ३७८ जनाले आमाको नामबाट वंशजको नागरिकता प्राप्त गरेका छन् । बाबुको पहिचान हुन नसकेका उनीहरूलाई कानुनी प्रावधानअनुसार आमाको नामबाट नागरिकता प्रदान गरिएको हो ।

गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र संकलन तथा कार्ड वितरणलाई अभियानका रूपमा अघि बढाइरहेका बेला जिल्लामा एक वर्षका अवधिमा ९७ हजार चार सय ७७ जनाको विवरण संकलन गरिएको छ । सोही अवधिमा ९८ हजार छ सय ८९ थान राष्ट्रिय परिचयपत्र कार्ड सर्वसाधारणलाई वितरण गरिएको छ ।

सेवा प्रवाहसँगै जिल्ला प्रशासन कार्यालयले राजस्व संकलनमा पनि उल्लेख्य योगदान पुर्‍याएको छ । आव २०८२/८३ मा राहदानी शुल्कतर्फ १४ करोड ७० लाख ७९ हजार चार सय ५१ र अन्य प्रशासनिक शुल्कतर्फ ६० लाख ४४ हजार ६० गरी कूल १५ करोड ३१ लाख २३ हजार पाँच सय ११ राजस्व संकलन भएको छ ।

सर्वसाधारणका गुनासो तथा मिटरब्याजसम्बन्धी समस्या समाधानमा पनि प्रशासनिक सक्रियता देखिएको छ । समीक्षा अवधिमा मिटरब्याज, नियामक निकाय र ठाडो उजुरी गरी चार सय ७९ वटा निवेदन फछ्र्योट गरिएका छन् भने नौ सय २९ जनालाई नाबालक परिचयपत्र उपलब्ध गराइएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउँदै लगिएको बताए । सेवाग्राहीको प्रतिक्रिया लिन ‘सेवा सन्तुष्टि क्युआर’ सञ्चालनमा ल्याइएको र सार्वजनिक सुनुवाइलाई निरन्तरता दिइएकाले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरण थप प्रभावकारी बनेको उनले जानकारी दिए ।