• Menu

असारमा गण्डकी प्रदेशमा ट्राफिक कारबाहीबाट साढे एक करोडभन्दा बढी राजस्व संकलन

नेपाल प्रफिट

२०८३ साउन ५, १८:२२

असारमा गण्डकी प्रदेशमा ट्राफिक कारबाहीबाट साढे एक करोडभन्दा बढी राजस्व संकलन

कास्की । गण्डकी प्रदेशमा गत असारमा ट्राफिक कारबाहीबाट एक करोड ६५ लाख १३ हजार राजस्व संकलन भएको छ । प्रदेशका ११ वटै जिल्लामा गरिएको प्रहरी चेकजाँचका क्रममा ट्राफिक नियम उल्लंघन गर्नेहरूबाट जरिवाना बापत उक्त रकम उठेको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले सोही अवधिमा १९ वटा सवारी दुर्घटना भएको जानकारी दिए । दुर्घटनामा परी २१ जनाले ज्यान गुमाए भने १८ जना घाइते भएका थिए । प्रहरीले असारमा प्रदेशका विभिन्न जिल्लाबाट ५४ थान भरुवा बन्दुक बरामद गरिएको जनाएको छ ।

सोही महिनामा ११६ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाले बताए । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रदिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याइएको हो ।

पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि प्रहरीले सम्बन्धित जिल्लाका अदालतमा बुझाएको थियो । प्रतिवादीबाट २९ वर्ष आठ महिना १७ दिन कैद र दुई करोड ५९ लाख आठ हजार ६३८ बिगो रकम असुल गरिएको छ ।