• Menu

स्वास्थ्य बिमावापत भरतपुर अस्पतालले पायो ९२ करोड भुक्तानी, ३६ करोड अझै बाँकी

नेपाल प्रफिट

२०८३ असार २३, १७:०१

स्वास्थ्य बिमावापत भरतपुर अस्पतालले पायो ९२ करोड भुक्तानी, ३६ करोड अझै बाँकी

चितवन । भरतपुर अस्पतालले ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ ।

बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो । स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।

संस्थाले २०७४ साल भदौबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो । यस अवधिमा बिमामार्फत दुई अर्ब ४७ करोड ४८ लाख २२ हजार ३२९.९७ प्राप्त गरिसकेको छ । गत आर्थिक वर्षमा चार लाख ४१ हजार पटक बिमा सेवा दिएको अस्पतालले यस आर्थिक वर्षमा पाँच लाखभन्दा बढी पटक सेवा दिएको छ ।

अस्पतालमा चितवन, मकवानपुर, बारा, पर्सा, नवलपरासी, गोरखा, तनहुँ, लमजुङ, धादिङलगायत २२ जिल्लाभन्दा बढी स्थानबाट बिरामी बिमामार्फत सेवा लिन आउने गर्छन् ।

प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले बिमाका बिरामीलाई उच्च प्राथमिकता दिँदै प्रतीक्षा सूची घटाउने गरी काम गरिरहेको बताउँछन् ।  भिडियो एक्सरेको एक हप्ताको सूची घटाएर प्रतीक्षा गर्न नपर्ने बनाइएको छ । सिटी मेसिनमा समस्या आएपछि मर्मत नभएसम्मका लागि निजी अस्पतालसँग सहकार्य गरेर बिमाको दररेटमा सेवा दिइएको उनले बताए ।

अनलाइनमार्फत टिकट काट्ने व्यवस्था पनि मिलाइएको छ । दैनिक झण्डै २०० हाराहारीले अनलाईनमार्फत टिकट काट्न थालेका छन् । यो संख्या ४०० हाराहारी पुग्ने अनुमान छ । अस्पतालले आठ वटाबाट नगद काउन्टर बढाएर १० पुर्‍याएको छ ।

बगालेले भने, ‘अस्पतालमा आउने बिरामी प्रतीक्षा सूचीमा बस्न नपरोस् भनेर काम गरिरहेका छौँ ।’ बोर्डले पछिल्लो समय जारी गरेको औषधि र सेवा शुल्क कतिपयमा खरिदभन्दा निकै कम हुँदासमेत सेवा दिइरहेको उनले बताए ।

बिमाको नयाँ शुल्कसँगै बहिरङ्ग सेवामा २५ हजारसम्मको सेवा लिँदा पहिलेको तुलनामा मूल्य घटेपछि अहिले निकै बढी औषधि र सेवा लिने अवसर बिरामीले पाएका छन् ।