
काठमाडौं । नेपाली रेमिटेन्स सेवाको अग्रणी संस्था आइएमई लिमिटेडले आफ्नो २६औँ वार्षिकोत्सव मनाउँदै डिजिटल प्रविधिको उच्चतम उपयोगमार्फत रेमिटेन्स तथा वित्तीय सेवालाई अझ सुरक्षित, छिटोछरितो र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
शुक्रबार काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोहमा आइएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेमराज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर आगामी दिनमा डिजिटल इनोभेसनमार्फत एकीकृत वित्तीय सेवा विस्तार गरिने बताए ।
उहाँले वैदेशिक रोजगारीका क्रममा भोगेका अनुभवबाट सुरु भएको आइएमई आज रेमिटेन्स सेवा मात्र नभई समग्र वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको भरपर्दो संस्थाका रूपमा स्थापित भएको उल्लेख गरे । साथै, दुर्गमदेखि सहरी क्षेत्रसम्म वित्तीय पहुँच विस्तार गर्दै आइएमईले सामाजिक-आर्थिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए ।
कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङको विकाससँगै सेवा प्रवाहको स्वरूप परिवर्तन भइरहेको सन्दर्भमा नवीनतम प्रविधि आत्मसात् गरी रेमिटेन्स तथा अन्य वित्तीय सेवाहरूलाई अझ परिष्कृत, सुरक्षित र सहज बनाउने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २६ वर्षको यात्रामा ‘रेमिट भनेकै आइएमई’ भन्ने पहिचान स्थापित हुनु गौरवको विषय भएको बताउँदै यससँगै जिम्मेवारी पनि बढेको उल्लेख गरे ।
उनले रेमिटेन्सलाई औपचारिक माध्यमबाट भित्र्याउने, विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन सहयोग गर्ने तथा विप्रेषणलाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय अर्थतन्त्रलाई थप गतिशील बनाउन सरकारसँग सहकार्य जारी रहने बताए ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता र व्यावसायिक नैतिकतालाई प्राथमिकतामा राखेर कम्पनीले सेवा प्रवाह गरिरहेको जानकारी दिए । उनले प्रविधिको विकाससँगै विविधीकृत सेवामार्फत आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिँदै अघि बढ्ने प्रतिबद्धता जनाए।
सो अवसरमा आइएमईको नयाँ लोगो सार्वजनिक गरिएको थियो। कम्पनीका अनुसार नयाँ लोगोले आइएमईका विस्तारित वित्तीय सेवाहरूको प्रतिनिधित्व गर्दछ।
वार्षिकोत्सवका अवसरमा आयोजित अन्तर-कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उपविजेतालाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो। लामो समयदेखि कम्पनीमा आबद्ध कर्मचारीहरूलाई विशेष सम्मानसमेत गरिएको थियो।
हाल आइएमईले देशभर २२५ आइएमई सेन्टर, ७७ जिल्लामा करिब १२ हजार सब-एजेन्ट तथा बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले पठाएको रकम सुरक्षित, छिटो र भरपर्दो रूपमा परिवारसम्म पुर्याउँदै आएको जनाएको छ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal