
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा पूर्वसचिव बिन्दु हाडा भट्टराई नियुक्त भएकी छन् ।
शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो। बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विशेष समारोहबीच नवनियुक्त सञ्चालक भट्टराईलाई सञ्चालक समितिमा स्वागत गरेका छन् ।
भट्टराईसँग सार्वजनिक प्रशासन, सुशासन तथा विकास व्यवस्थापन क्षेत्रमा साढे तीन दशकभन्दा बढी अनुभव रहेको छ। उनले नेपाल सरकारका विभिन्न महत्वपूर्ण निकायमा रहेर जिम्मेवारी निर्वाह गरेकी छन्। उनी पूर्वसचिवका रूपमा सिंचाइ मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सूचना आयोग, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहिसकेकी छन्।
शैक्षिक रूपमा भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा कानूनमा स्नातक उपाधि हासिल गरेकी छन्। साथै, अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाबाट पब्लिक पोलिसी (ट्रेड एन्ड फाइनान्स) र ड्युक युनिभर्सिटीबाट नन–प्रोफिट म्यानेजमेन्टमा उच्च शिक्षा हासिल गरेकी छन्।
हाल उनी साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्टकी कार्यकारी सदस्य तथा प्रोफेसनल होल्डिङ्सकी स्वतन्त्र सञ्चालकका रूपमा कार्यरत छिन्।
बैंकले भट्टराईको आगमनसँगै आफ्नो व्यावसायिक रणनीति, सामाजिक उत्तरदायित्व तथा दिगो विकासका लक्ष्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
स्वागत कार्यक्रममा बैंकका अन्य सञ्चालक, प्रमुख कार्यकारी अधिकृतलगायत उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal