
काठमाडौं । सरकारले सबै सरकारी वेबसाइटमा पहुँचमैत्री उपकरण (एक्सेसिबिलिटी टुल) समावेश गरेको छ। यसबाट दृष्टिविहीन, न्यून दृष्टि भएका, रंग पहिचानमा समस्या भएका, पढाइसम्बन्धी कठिनाइ भएका, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका व्यक्तिहरूले सरकारी वेबसाइट सहज रूपमा प्रयोग गर्न सक्ने भएका छन् ।
सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाडीका अनुसार सरकारी वेबसाइटहरूलाई सबै नागरिकका लागि समावेशी र प्रयोगमैत्री बनाउन उक्त सुविधा कार्यान्वयनमा ल्याइएको हो ।
सरकारले गत चैतमा सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत सरकारी एप र पोर्टललाई अपाङ्गता भएका व्यक्ति तथा कम प्राविधिक ज्ञान भएका नागरिकले पनि सजिलै प्रयोग गर्न सक्ने बनाउने लक्ष्य राखेको थियो। सोही लक्ष्यअनुसार वेबसाइटहरूमा नयाँ पहुँचमैत्री सुविधा थप गरिएको हो ।
हाल सरकारी वेबसाइट खोल्दा तल्लो भागको मध्य क्षेत्रमा पहुँचमैत्री उपकरणको संकेत देख्न सकिन्छ। यसमार्फत प्रयोगकर्ताले अक्षरको आकार ठूलो वा सानो बनाउन, अक्षर र पृष्ठभूमिबीचको भिन्नता बढाउन, विभिन्न रंग फिल्टर प्रयोग गर्न, अक्षर तथा हरफबीचको दूरी मिलाउन र आफूअनुकूल फन्ट छनोट गर्न सक्नेछन् ।
त्यस्तै, माउस सूचकको आकार परिवर्तन गर्ने, तस्बिर लुकाएर पाठ मात्र पढ्ने, चलायमान दृश्य तथा एनिमेसन रोक्ने लगायतका सुविधा पनि उपलब्ध गराइएको छ।
विभागका अनुसार अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकसित यी वेबसाइटहरू किबोर्डबाट मात्र पनि सञ्चालन गर्न सकिनेछन् । ‘स्किप नेभिगेसन’ सुविधाले किबोर्ड तथा स्क्रिन रिडर प्रयोगकर्तालाई सिधै मुख्य सामग्रीमा पुग्न सहयोग पुर्याउनेछ भने तस्बिर, लोगो र सेवासम्बन्धी सामग्रीमा राखिएको वैकल्पिक विवरणले दृष्टिविहीन प्रयोगकर्तालाई सामग्री बुझ्न सहज बनाउनेछ ।
फाराम भर्ने क्रममा देखिने त्रुटि सन्देश तथा सुझावहरू पनि सजिलै सुन्न र बुझ्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ। साथै, खोजी तथा सम्पर्क फाराममा स्पष्ट संकेत राखिएकाले स्क्रिन रिडर प्रयोगकर्तालाई सेवा लिन थप सहज हुने अपेक्षा गरिएको छ ।
यसअघि विभागले वैशाखमा विभिन्न मन्त्रालय तथा विभागका कर्मचारीलाई अपाङ्गमैत्री सुविधासहितको एकीकृत सरकारी वेबसाइट व्यवस्थापन प्रणालीसम्बन्धी तालिमसमेत प्रदान गरेको थियो ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal