• Menu

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुवात हो : गृहमन्त्री गुरुङ

नेपाल प्रफिट

२०८२ चैत १४, शनिबार ०७:२९

ओली र लेखकको पक्राउ प्रतिशोध होइन, न्यायको सुरुवात हो : गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गत भदौ २३ गतेको जेनजी आन्दोलनमा भएको दमनबारे अनुसन्धान गर्न नियन्त्रणमा लिइनुलाई प्रतिशोध नभई न्यायको सुरुवात भएको बताएका हुन् ।

‘कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ, यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो,’ मन्त्री गुरुङले फेसबुकमा लेखेका छन् ।

गृहमन्त्री गुरुङले अब देशले नयाँ दिशा लिने विश्वाससमेत व्यक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखकलगायतमाथि फौजदारी कानुनअनुसार कारबाही गर्न सिफारिस गरेको छ । सोही सिफारिसका आधारमा प्रहरीले आज बिहानै ओली र लेखकलाई पक्राउ गरेको हो ।