• Menu

वीरगन्जमा नयाँ वर्षमा ‘रात्रि बजार’ सञ्चालन हुने

नेपाल प्रफिट

२०८१ चैत १२, ११:१०

वीरगन्जमा नयाँ वर्षमा ‘रात्रि बजार’ सञ्चालन हुने

पर्सा । वीरगन्जमा नेपाली नयाँ वर्षका अवसरमा ‘रात्रि बजार’ सञ्चालन गरिने भएको छ । वीरगन्जमहानगरको आयोजनामा यही चैत २९ गतेदेखि ३१ गतेसम्म वीरगन्जको आदर्शनगरस्थित पुरानो बसपार्कमा रात्रि बजार सञ्चालन गर्न लागिएको हो ।

वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहले विगतका वर्षमा जस्तै यस वर्ष पनि वीरगन्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउन रात्रि बजार आयोजना गर्न लागिएको जानकारी दिए । ‘यो बजार सञ्चालनमा आएपछि अबेरसम्म बजार सञ्चालन हुने वातावरण सिर्जना गर्ने अपेक्षा लिएका छौँ,’ उनले भने । यसअघि पनि महानगरले रात्रि बजार सञ्चालन गर्दै आइरहेको छ ।

रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुँडालगायत सरसामानका स्टल राखिने छन् । ग्रिनसिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाइइएफ, वीरगन्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा रात्रि बजार सञ्चालन गरिने महानगरले जनाएको छ ।