दाङ । घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ । विद्युत् सर्ट भएर उद्योगमा आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको उद्योगमा आगलागीका कारण उद्योग नजिकका ३० भन्दा बढी घर जोखिममा परेका छन् । ती घरका सामान बाहिर निकाल्ने काम भइरहेको छ भने त्यहाँ बस्दै आएका नागरिकलाई सुरक्षित स्थानमा लगिएको उनले बताए ।

आगलागीबाट प्लाई बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, प्लाई बनाउने मेसिनलगायत सामग्री जलेर नष्ट भएका छन् । उद्योगमा गए राति २ बजेदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । अहिले घोराही, तुलसीपुर, लमही, गढवा र कपिलवस्तुबाट ल्याइएका दमकलको सहयोगमा आगो निभाउने काम भइरहेको छ ।
आगो निभाउन ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासी खटिएका छन् ।
