पर्सा । सर्वोच्च अदालतले वीरगन्जका मुख्य सडक विस्तारविरुद्धको रिट खारेज गरेसँगै सडक डिभिजन हेटौँडाले सो खण्डमा पर्ने सडकको सिमांकन गरिदिन नापी कार्यालय पर्सालाई पत्राचार गरेको छ ।
सडक डिभिजन हेटौँडाका डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले यही चैत ८ गते नापी कार्यालयलाई पत्र लेखेर त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डकचोक-पावरहाउस-घण्टाघर-विर्ता-रजतजयन्तीचोक-मितेरी पुलसम्मको सडकमा २५/२५ मिटरको सीमाक्षेत्र सिमांकन गर्नुपर्ने भएकाले सोही बमोजिम गरी सडक सम्पत्ति संरक्षण गर्ने कार्यमा सहयोग गर्न अनुरोध गरेको हो ।
डिभिजन प्रमुख अधिकारीले सर्वोच्च अदालतको पूर्णपाठ आउनु अगावै सडक विस्तार हुँदा प्रभावित हुने घर, टहराको विवरण संकलन गर्न नापी कार्यालयलाई सिमांकनका लागि अनुरोध गरिएको बताए ।
‘सर्वोच्च अदालतले रिट खारेज गरेपछि सडक विस्तारका लागि आवश्यक पर्ने तथ्यांक संकलन गर्न सिमांकन गर्न लागेका छौँ,’ उनले भने, ‘सर्वोच्च अदालतको पूर्णपाठ हेरेपछि मात्रै सडक विस्तार अघि बढ्ने कामको सुरुवात गरिनेछ । यसले सडक विस्तारबाट हुने प्रभावित घरधुरीको यकीन विवरण संकलन थालिएको हो ।’
डिभिजन प्रमुख अधिकारीले सडकको सिमांकनका लागि तीन महिनाको अवधि लाग्नसक्ने अनुमान गरे । ‘हामीले नापी कार्यालयलाई पत्राचार गरिसक्यौँ । अब उनीहरूले कति समय लगाएर यकीन विवरण संकलन गर्नुहुन्छ,’ उनले भने ।
यसैबीच, वीरगन्ज महानगर-९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्ताले सडक विस्तार गर्न नहुने भन्दै वीरगन्ज बचाऊ संघर्ष समितिको नेतृत्व गर्दै आइरहेका छन् । वडाध्यक्ष गुप्ताले वीरगन्जको पुरानो तथा ऐतिहासिक मेडरोड (प्रमुख मार्ग) को बजार हटाएर जनतालाई विस्थापित गर्न नहुने धारणा राखे ।
‘गण्डकबाट रजतजयन्तीचोकसम्म कम्तीमा एक हजार एक सय घरधुरी प्रभावित हुने देखिन्छ,’ उनले भने, ‘यसले वीरगन्जका करिब २० हजारभन्दा बढी सर्वसाधारणलाई घरविहीन बनाउने अवस्था सिर्जना गर्दैछ । त्यसैले जनतालाई हटाउने खालको विकास आवश्यक छैन ।’
वडाध्यक्ष गुप्ताले वीरगन्जमा बाइपास सडक, रेल्वे सडक, परवानीपुरबाट ड्राइपोर्टसम्म पर्याप्त सडक भएकाले पनि प्रमुख मार्ग विस्तार गर्नुको औचित्य नभएको दाबी गरे ।
वीरगन्जमहानगर प्रमुख राजेशमान सिंह भने सडक विस्तार गर्नुपर्ने पक्षमा छन् । सर्वोच्चका अदालतका न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले गत फागुन २८ गते रिट निवेदकको पाँच वटै रिट खारेज गरेसँगै डिभिजन सडक कार्यालय हेटौँडालाई वीरगन्जको प्रमुख मार्ग को दायाँबायाँ २५-२५ मिटर चौडा गर्ने बाटो खुलेको छ ।
वीरगन्जका छुट्टाछुट्टै पाँच घरधनी निवेदकले विभिन्न मितिमा उक्त सडकको दायाँबायाँ २५-२५ मिटर विस्तार गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
वीरगन्ज महानगरका लक्ष्मण साह रौनियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर २०७६ सालमा सडक विस्तार रोक्नुपर्ने माग राख्दै रिट दायर गरेका थिए । अन्य निवेदकहरूले पनि फरक-फरक मितिमा सडक विस्तारविरुद्धमा रिट दायर गरेका हुन् ।