• Menu

म्याग्दीमा हिमपात र वर्षाले किसानलाई राहत

नेपाल प्रफिट

२०८१ चैत १०, ११:२६

म्याग्दीमा हिमपात र वर्षाले किसानलाई राहत

म्याग्दी । हिमपात र हिउँदे वर्षा भएको छ । लामो समयपछि भएको वर्षाले किसानलाई राहत मिलेको छ । वर्षा नहुँदा हिउँदे गहँ, जौँ, आलुलगायत खाद्यबाली र सागसब्जीखेतीसँगै फलफूलखेती प्रभावित बनेको थियो ।

हिउँदमा वर्षा नभएर बाली नै सुक्ने अवस्थामा पुगेको थियो । वर्षाले खेतबारीमा लगाएको मकै, सिमीलगायत खेतीबाली र फलफूल बगैँचामा सिँचाइ भएको रघुगंगा गाउँपालिका-३ का नरबहादुर भण्डारीले बताए । उनका अनुसार लामो समयपछि शनिबार दिउँसो जमिन भिज्ने गरी भएको वर्षाले किसानलाई राहत मिलेको छ ।

यस वर्ष म्याग्दीको उच्च पहाडी क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । जिल्लाको गुर्जा, कुइनेमङ्गले, मल्कबाङलगायत उच्च पहाडी क्षेत्रमा साँझपखदेखि  हिमपात हुन थालेको छ । हिउँदयाम सुक्खा हुँदा खेतीबालीसँगै घाँसपात सुकेको अवस्थामा वर्षासँगै भएको हिमपातले राहत मिलेको धवलागिरि गाउँपालिका-५ मल्कबाङका हिमबहादुर छन्त्यालले बताए ।

जिल्लाको पुनहिल, घोडेपानी, खोप्रालेक, खयरलेक, मोहरेडाँडालगायत पर्यटकीयस्थलमा हिमपात भएको छ । हिउँमा रमाउन उक्त क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायीले बताएका छन् ।