• Menu

रक्षा बजेट ७.२ प्रतिशतले बढाएर १९ खर्ब ८ अर्ब युआन बनाउँदै चीन

नेपाल प्रफिट

२०८१ फागुन २१, बुधबार १३:३९

रक्षा बजेट ७.२ प्रतिशतले बढाएर १९ खर्ब ८ अर्ब युआन बनाउँदै चीन

एजेन्सी । अमेरिकासँग गहिरो रणनीतिक प्रतिस्पर्धामा रहेको चीनले सेनाको आधुनिकीकरणका लागि रक्षा बजेट ७.२ प्रतिशतले बढाउने भएको छ । चालु वर्षका लागि सैन्यतर्फ १७ खर्ब ८० अर्ब युआन (दुई खर्ब ४५ अर्ब ७० करोड डलर) विनियोजन गरेको बेइजिङले आगामी वर्षमा बढाएर १९ खर्ब ८ अर्ब (दुई खर्ब ६३ अर्ब ३९ करोड डलर) बनाउने भएको हो ।

चीनको यो सैन्य बजेट विश्वकै दोस्रो सबैभन्दा ठूलो हो । तर, प्राथमिक रणनीतिक प्रतिद्वन्द्वी अमेरिकाको भन्दा एक तिहाइभन्दा कम हो । जबकि, चीनको जनमुक्ति सेना (पीएलए) ले सैनिक कर्मचारीको संख्याका हिसाबले अमेरिकी सेनालाई पछाडि पारेको छ ।

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका अनुसार गत वर्ष चीनको सैन्य खर्च कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १.६ प्रतिशत थियो । जीडीपी अनुपातमा यो अमेरिका र रुसको तुलनामा निकै कम हो ।

तर, सैन्य संख्या र रक्षा बजेट विस्तारलाई वासिङ्टनका साथै जापानलगायत क्षेत्रका अन्य शक्तिहरूले शंकाका साथ हेरेका छन् । यिनीहरूबीच पूर्वी चीन सागरमा टापुहरूको भौगोलिक विवाद छ । यसै हप्ता चीनको ‘दुई सत्र’ बैठकको दोस्रो राष्ट्रिय जनकंग्रेसको उद्घाटन सत्रका लागि बेइजिङमा हजारौँ प्रतिनिधिहरू भेला भएपछि बजेट वृद्धि भएको हो ।

त्यस सत्रमा प्रधानमन्त्री ली किआङले ताइवान र मुख्य भूमिबीच शान्तिपूर्ण विकास प्रवर्द्धन गर्न सकियोस् भनेर चीनले ताइवानको स्वतन्त्रता र बाह्य हस्तक्षेपलाई लक्षित गर्ने पृथकतावादी गतिविधिहरूको दृढतापूर्वक विरोध गर्ने बताए । चीनले आफ्नो सैन्य स्थितिलाई ‘रक्षात्मक’ र आफ्नो सार्वभौमिकताको रक्षा गर्ने अस्त्रका रुपमा लिएको बताएको छ ।