• Menu

बागलुङमा अज्ञात रोगले बंगुर मर्न थालेपछि किसान चिन्तित

नेपाल प्रफिट

२०८१ फागुन १८, १६:३९

बागलुङमा अज्ञात रोगले बंगुर मर्न थालेपछि किसान चिन्तित

बागलुङ । जिल्लाको बरेङ गाउँपालिकामा अज्ञात रोगका कारण बंगुर मर्न थालेका छन् । दश दिनको अवधिमा बरेङ–२ हुग्दिशिरको सिग्दी र बरेङ बजार आसपासमा अज्ञात रोगका कारण छ वटा बंगुर मरेपछि किसान चिन्तित बनेका हुन् ।

अज्ञात रोगले अन्दाजी ५० किलोको एक र तीन महिनाको दुई वटा पाठा मरेका सिग्दीकी शिला थापाले बताए । भाटी बजारका सविन राम्जालीको झण्डै ५० किलो, सातदोबाटोका मोहन पुनको करिब ४५ किलो र फटिक पुनको बंगुर पनि अज्ञात रोगले मरेका छन् ।

बंगुरमा एक्कासी ज्वरो आउने, दानापानी नखाने, बाक्ने, पखाला लाग्नेलगायत लक्षणहरू देखा परेको भाटीबजारका सविन राम्जालीले बताए । अज्ञात रोगले बंगुर मर्न थालेपछि आफूजस्ता किसान मर्कामा परेका उनको भनाइ छ ।

पालिकाको पशुसेवा शाखा प्रमुख नारायण पौडेलले मरेका सबै बंगुरमा फरकफरक लक्षण देखिएकाले दानामा समस्या हुनसक्ने आशंका व्यक्त गरे । ‘महामारीजन्य रोग हो वा होइन पत्ता लगाउन स्वाब संकलन गरेर परीक्षणका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पठाउँदैछौँ,’ उनले भने ।

पौडेलका अनुसार अहिले अफ्रिकन स्वाइन फिभरको संक्रमण नदेखिएकाले अरु कारणले बंगुर मरेका हुन् । ‘अहिले तीन-चार दिन भयो त्यस्तो समस्या नदेखिँदा अफ्रिकन स्वाइन फिभर होइन कि भन्ने अनुमान गरेका छौँ,’ उनले भने, ‘वास्तविकताका लागि प्रयोगशाला परीक्षणका लागि रगत पठाउने तयारीमा छौँ ।’ अफ्रिकन स्वाइन फिभर भएको भए एउटै फार्मको केही मर्ने केही नमर्ने भन्ने नहुने उनको भनाइ छ ।

लक्षणहरू हेर्दा बुटवलबाट ल्याएको दानाका कारण बंगुर मरेको हुनसक्ने भन्दै पौडेलले दानाको पनि परीक्षण गरिने उल्लेख गरे । प्रयोगशालाको रिपोर्ट आएपछि मात्रै किसानका बंगुर कसरी मरे भन्ने पत्ता लाग्ने उनको भनाइ छ ।

‘मरेका छवटै बंगुरमा फरकफरक लक्षण देखिएकाले दानाकौ कारण हो कि भन्ने अनुमान गरेका छौँ । प्रयोगशालाको रिपोर्ट आएपछि वास्तविकता पत्ता लागी समस्या समाधानतर्फ लाग्नेछौँ,’ उनले भने ।

गत वर्षको जेठमा फैलिएको अमेरिकन स्वाइन फिभरबाट बागलुङ नगरपालिका– १, २, ३ र ४ का ५४ किसानले पालेका चार सय बंगुर मरेका मर्दा  दुई करोडभन्दा बढीको क्षति भएको थियो ।