एजेन्सी । सन् २०२२ फेब्रुअरीदेखि सुरु भएको रुससँगको युद्धमा अमेरिकाले युक्रेनलाई सवा खर्ब डलर हाराहारी सहयोग उपलब्ध गराएको तथ्यहरु सार्वजनिक भएका छन् । तर, रुसले आक्रमण गरेयताको तीन वर्ष अवधिमा अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको प्रशासनले भुक्तान गरेको सहायताभन्दा चार गुणा बढी क्षतिपूर्ति वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग मागेका छन् ।
जर्मन आर्थिक अनुसन्धान निकाय किल इन्स्टिच्युटका अनुसार ट्रम्पले पाँच खर्ब डलर क्षतिपूर्ति मागेका हुन् । तीन वर्षको अवधिमा वासिङ्टनले युक्रेनलाई भुक्तान गरेको एक खर्ब २० अर्ब डलरबराबरको रकमको करिब चार गुणा हो ।
तर, जेलेन्स्कीले युक्रेनीहरूको १० पुस्ताले तिर्नुपर्ने सम्झौतामा हस्ताक्षर नगर्ने भनेपछि त्यसमा सम्झौता हुन सकेन । सम्झौताबारे जानकारी भएको किएभको एक स्रोतले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई बताएअनुसार दस्तावेजको सबैभन्दा हालको मस्यौदाबाट यो माग हटाइएको छ ।
तर, त्यसबापत युक्रेनले झन् ठूलो सम्पत्ति अमेरिकालाई सुम्पिनुपर्ने भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्तावमा युक्रेनी नेता भोलोदिमर जेलेन्स्कीले सहमति नजनाए पनि किएभ र वासिङ्टनले अमेरिकालाई युक्रेनी खनिज स्रोतहरूमा पहुँच दिने सम्झौतामा भने सहमति जनाएका छन् ।
के यो सम्झौताले युक्रेनलाई सुरक्षा प्रत्याभूति प्रदान गर्छ ? भन्नेबारे सम्झौताका महत्त्वपूर्ण विवरणहरू अझै अस्पष्ट छन् । तर, यसै साता वासिङ्टनमा ट्रम्प र जेलेन्स्कीबीच हुने भेटमा सम्झौतामा हस्ताक्षर हुने अनुमान भइरहेको छ ।
सम्झौताको बदलामा युक्रेनले अब फेरि कुनै कालखण्डमा रुसले आक्रमण गर्ने छैन भन्ने बलियो प्रत्याभूति खोजेको छ । जेलेन्स्कीले गत वर्ष अक्टोबरमा आफ्नो पाँच बुँदे विजय योजनाको हिस्साका रूपमा युक्रेनी प्राकृतिक स्रोतमा पहुँचलाई सुरक्षा प्रतिबद्धताका लागि आदानप्रदान गर्ने विचार अघि सारेका थिए ।
युक्रेन अन्ततः नाटो सदस्यता चाहन्छ । तर, त्यो विकल्पलाई – क्रेमलिनका लागि रेड लाइन – वासिङ्टनले रोकेको छ । युक्रेनले युद्धविराम भएको खण्डमा विदेशी शान्ति सैनिकहरू तैनाथ गर्न वकालत गरेको छ । तर, अमेरिकाले यो विकल्पलाई अस्वीकार गरेको छ भने युरोपेली देश यस मुद्दामा विभाजित छन् ।
युक्रेनसँग विश्वको खनिज स्रोतहरूको लगभग ५ प्रतिशत रहेको अनुमान छ । तर, ती सबै अहिलेसम्म दोहन गरिएका छैनन् । कतिपय खनिज सजिलैसँग दोहन गर्न सकिने खालका पनि छैनन् । केही खनिज रुसले कब्जा गरेको क्षेत्रमा छन् । यसैलाई ट्रम्पले सौदाबाजीको माध्यम बनाएका छन् ।
वर्ल्ड माइनिङ डाटाका अनुसार युक्रेन म्यागनिजको उल्लेखनीय उत्पादक (विश्वको आठौँ ठूलो उत्पादक), टाइटानियम (११औँ) र ग्रेफाइट (१४औँ) हो । यी खनिज तत्व विद्युतीय ब्याट्रीहरूका लागि अत्यावश्यक छन् । फ्रान्सको ब्युरो अफ जियोलोजिकल एन्ड माइनिङ रिसर्च (बीआरजीएम) का अनुसार युक्रेनसँग विश्वको ग्रेफाइटको अनुमानित स्रोतहरूको २० प्रतिशत हिस्सा छ ।
युक्रेनले ‘युरोपको सबैभन्दा ठूलो लिथियम भण्डारहरूमध्ये एक’ भएको पनि बताएको छ । तर, नरम धातु लिथियम अझै ननिकालिएको सरकारले बताएको छ ।