• Menu

उत्तर कोरियाले एक अर्ब ५० करोड डलर क्रिप्टोकरेन्सी चोरी गरेको अमेरिकाको आरोप

नेपाल प्रफिट

२०८१ फागुन १५, ११:५३

उत्तर कोरियाले एक अर्ब ५० करोड डलर क्रिप्टोकरेन्सी चोरी गरेको अमेरिकाको आरोप

एजेन्सी । अमेरिकी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले उत्तर कोरियामाथि गत हप्ता एक अर्ब ५० करोड डलरको डिजिटल सम्पत्ति चोरी गरेको आरोप लगाएको छ । यो इतिहासमा सबैभन्दा ठूलो क्रिप्टो चोरी हो ।

‘उत्तर कोरिया क्रिप्टोकरेन्सी एक्सचेन्ज, बाइबिटबाट लगभग एब अर्ब ५० करोड अमेरिकी डलर मूल्य बराबरको भर्चुअल सम्पत्ति चोरीको लागि जिम्मेवार थियो,’ एफबीआईले एक सार्वजनिक सेवा घोषणामा भनेको छ ।

ब्युरोले लाजारस ग्रुप पनि भनिने ट्रेडरट्रेटर एक समूह चोरीको पछाडि रहेको बताएको छ । ‘उनीहरू द्रुत गतिमा अघि बढिरहेका छन् र चोरी गरिएको केही सम्पत्तिलाई बिटक्वाइन र अन्य भर्चुअल सम्पत्तिमा परिवर्तन गरिसकेका छन्, जुन धेरै ब्लकचेनहरूमा हजारौँ ठेगानामा फैलिएका छन्,’ ब्युरोले भनेको छ, ‘यी सम्पत्तिहरू थप रूपमा धुलाइ गरिने र अन्ततः फिएट मुद्रामा परिवर्तन गरिने अपेक्षा गरिएको छ ।’

उत्तर कोरियाली नेता किम जोङ उनको उपहास गर्ने फिल्म ‘द इन्टरभ्यु’को बदलामा सोनी पिक्चर्समा ह्याकिङ गरेको आरोप लागेपछि लाजारस समूहले एक दशकअघि कुख्याति प्राप्त गरेको थियो । उत्तर कोरियाको साइबर युद्ध कार्यक्रम कम्तीमा सन् १९९० को मध्यदेखि सुरु भएको हो ।

सन् २०२० को अमेरिकी सैन्य प्रतिवेदनअनुसार त्यसबेलादेखि यो ६ हजार जना सदस्य भएको साइबर युद्ध एकाइ बनेको छ, जसलाई ब्युरो १२१ भनिन्छ र यो धेरै देशबाट सञ्चालन हुन्छ ।