• Menu

रामेछापमा व्यावसायिक माहुरीपालन फस्टाउँदै

नेपाल प्रफिट

२०८१ फागुन १२, ११:४६

रामेछापमा व्यावसायिक माहुरीपालन फस्टाउँदै

रामेछाप । रामेछापमा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरुमा माहुरीपालन गर्नेको संख्या बढदै गएको छ । मन्थली र रामेछाप नगरपालिका, सुनापति गाँउपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरीपालन गरिएका छन् ।

कम लगानीमा बढि आम्दानी हुने भएपछि यहाँका कृषक माहुरीपालनतर्फ आकर्षित भएका हुन् । सुख्खा ठाँउमा पनि माहुरीपालन गर्न सकिने भएकाले धेरैको रोजाइमा परेको छ ।

विशेषगरी सेरेना जातका माहुरीले प्रायः दुई-तीन महिनामै मह उत्पादन गर्ने भएकाले मह बिक्रीबाट आम्दानी लिन सजिलो हुने कृषक बताउँछन् । लामो समयसम्म रोजगारीको सिलसिलामा सहर बसेर फर्किएका रामेछाप नगरपिलका–७ सुकाजोरका स्थानीय कृष्णबहादुर तामाङले गाँउमै केही गर्ने अठोटका साथ माहुरीपालन गरेका छन् ।

अवसरको खोजी गर्ने क्रममा अन्तिममा माहुरीपालन सहज लागेकोले आफू यस प्रति सन्तुष्ट रहेको उनको भनाइ छ । अहिले मह प्रतिकिलो एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरको छ ।

एक सिजनमा एउटा घार बाट तीन केजीसम्म मह उत्पादन हुन्छ । एक वर्षमा चार पकटसम्म मह काढ्ने गरेको तामाङको भनाइ छ । मन्थली नगरपालिका–१ का चन्द्रबहादुर मानन्धरले दुई-तीन वर्षमै माहुरीपालन विस्तार गरी २० घार बनाएका छन् ।

उनले हाल दुई सय किलोभन्दा बढी मह बिक्री गरिसकेका छन् । सुरुमा माहुरीपालन सम्बन्धि कुनै ज्ञान नभएपनि छोटो अवधिको तालिम लिएर सुरु गरेकाले अहिले राम्रै आम्दानी गरेको उनले बताए । उनले भनिन्, ‘विषेशगरी तोरी फुलेका बेलामा माहुरीको मह चाँडो चाँडो काढ्न सकिन्छ । माहुरीको चरन क्षेत्र भनेको फुलवारी र तोरीवारी हो ।’

माहुरीपालन गर्ने कृषकले मह मात्र नभइ माहुरी सहितको घारसमेत बिक्री गर्ने गरेका छन् । सेरेना जातको माहुरीसहितको घार प्रतिगोटा १० हजारसम्ममा बिक्री हुने कृषक बताउँछन् ।

मन्थलीमा सदावहार बहुद्देश्यीय सहकारी संस्थाले पनि माहुरीपालन सुरु गरेको छ । छोटो तालिम पश्चात सुरु गरेको माहुरीपालनबाट प्रतिकिलो एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्मा गाँउघरमै मह बिक्री गर्ने गरेको सुनापति माहुरीपालन फार्मका सञ्चालक एवं खनियापानीका लालबहादुर मानन्धरले बताए ।

उनले सेरेना र मेरीफेरा गरी दुई जातका माहुरीबाट एक सिजनमा  एक सयदेखि एक सय पचास किलोसम्म मह उत्पादन गर्दै आएका छन् । खनियापनीस्थित रूपाकोटका १८ जनाले पनि ब्यावसायिक माहुरीपालन गरेका छन् । रूपाकोट माहुरीपालन कृषक समूहले ५३ घार एकै ठाँउमा माहुरीपालन गरेका छन्  । खनियापानीमा मात्र पाँच सय घार माहुरीपालन गरिएको छ ।

महुरीपालनका लागि प्रधानमन्त्री कृषि आधुनिकिककरण परियोजनाले पनि विगतदेखि अनुदान स्वरूप सहयोग गर्दै आइरहेको छ । उक्त सहयोग चालु आर्थिक वर्षमा पनि गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाकी सूचना अधिकारी बिनिषा श्रेष्ठले जानकारी दिइन् ।