• Menu

विकासमा ध्यान नपुर्‍याउँदा निम्तियो समस्या : पानीको निकास बन्द, २०० बिघा खेतीयोग्य जमिन र ७० घर डुबानमा

नेपाल प्रफिट

२०८१ माघ ३०, बुधबार १०:३८

विकासमा ध्यान नपुर्‍याउँदा निम्तियो समस्या : पानीको निकास बन्द, २०० बिघा खेतीयोग्य जमिन र ७० घर डुबानमा

पर्सा । वर्षातको पानीको निकास नहुँदा वीरगन्ज महानगरका चार वडाको दुई सय बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । वीरगन्ज महानगरका  वडा नम्बर १७, २४ र २६, २८ का दुई सय बिघा खेतीयोग्य जमिन डुबेको हो ।

वर्षायाममा जमेको पानीले अहिले पनि खेत भरिएका छन् । किसानले बाली लगाउन पाएका छैनन् । वीरगन्ज महानगर–२६ का किसान भगिरथप्रसाद कुर्मीले ६ महिनादेखि खेतीयोग्य जमिन डुबानका कारण बाली लगाउन नपाएको दुखेसो गरे ।

‘वर्षातदेखि खेतीयोग्य जमिनमा पानी जमेको जम्यै छ, पानी जमेकै कारणले धान पनि काट्न परेन । हिउँदयाम सुरु भयो । डुबानले गहुँखेती गर्न पाएका छैनन्,’ उनले भने । कुर्मीको १५ कट्ठा क्षेत्रफलको धान तथा अन्य बाली खेती गर्ने जमिन डुबानका कारण बेकामे भएको छ ।

‘डुबानको समस्या लिएर धेरै निकाय धाइसक्यो तर हाम्रो समस्या जस्ताको तस्तै छ, कम्तीमा वर्षायामअगावै डुबान समस्या अन्त्य गरिदिए हुन्थ्यो,’ उनले भने । उनको जस्तै समस्या वीरगन्ज महानगर–२४ बहुअरीका किसान सुदामाकुमार द्विवेदीले पनि भोग्दै आएका छन् ।

वर्षायाममा परेको पानीको उचित निकास नहुँदा २१ कट्ठा खेतमा लगाएको धान काट्न नपाएको उनले गुनासो पोखे । ‘असारमा धान रोपेका थियौँ । एक मुठी धान पनि भित्र्याउन पाएनौँ, यस्तै अवस्था रहने हो भने बालबच्चा र परिवार कसरी पाल्ने ?’ चिन्तित उनले भने ।

परवानिपुर-एकीकृत जाँचचौकी ६ लेनको सडक, हुलाकी राजमार्ग, अलौँ अठराहा सडक, एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहलगायत संरचना निर्माण भएसँगै प्राकृतिक पानीको बहाव रोकिएपछि डुबानको समस्या भएको हो ।  विगतमा अलौँबाट पानीको निकास हुँदै आएको थियो । तर, विभिन्न खालका पूर्वाधार संरचना निर्माण भएपछि प्राकृतिक रूपले पानीको बहाव रोकिएपछि किसानको खेत तथा घरमा डुबानको समस्या परेको हो ।

वीरगन्ज महानगर-२४ बहुअरीका अनिल तिवारीले खेतीयोग्य जमिनमात्र नभएर चारवटै वडावासीको घरमा पानी जम्ने समस्या रहेको बताए । ‘चारवटै वडाका विभिन्न घर डुबानमा परेका छन्,’ उनले भने, ‘तीन-चार फिट जमेको पानीमा हिँडेर घर जानुपर्ने समस्याबाट स्थानीय गुज्रिँदै आइरहेका छन् ।’ महानगर-२६ मा २०, वडा नं २४ मा ३५ घर र वडा नं २५ मा १५ घर डुबानमा परेको छ ।

वीरगन्ज महानगर–२६ का कार्यवाहक अध्यक्ष प्रदीप पटेल सडकलगायत पूर्वाधार निर्माणले प्राकृतिक रूपमा पानीको निकास बन्द हुँदा डुबानको समस्या भएको बताए । ‘विगतमा यस्तो समस्या थिएन । वर्षातको पानी असोज-कात्तिकसम्म सुकिसक्थ्यो, अहिले पानीको निकास नहुँदा कहिलेसम्म डुबानको समस्या रहने हो भन्ने शंका उत्पन्न भइरहेको छ,’ उनले भने ।

वीरगन्ज महानगरले कात्तिकमा खेतीयोग्य जमिनमा डुबानको समस्या देखिएपछि अलौँबाट शिवजी मिलसम्म तीन फिट गहिरो नाली खनेको थियो । तर, स्थानीयवासीले अस्थायी नाली पुरिदिएसँगै सो समस्या यथावत् नै रहेको बताए ।

‘अलौँबाट शिवजीको मिलसम्म एक किलोमिटर डोजर लगाएर अस्थायी रूपमा तीन फिट चौडा भएको पानीको निकास गर्ने प्रयास गरेका थियौँ तर ह्युमपाइप नहुँदा घरनजिकैका बासिन्दाले नाली पुरिदिँदा पनि अहिलेको समस्या उत्पन्न भएको हो,’ उनले भने । उनका अनुसार करिब एक किलोमिटर ह्युमपाइप भएको खण्डमा सो समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ ।

वीरगन्ज महानगरपालिका योजना शाखाका सब-इन्जिनियर कुन्दन ठाकुरले कात्तिकमा डोजरले तीन फिटको नाली खनेर अस्थायी ढंगले पानीको निकास गर्ने प्रयास गरे पनि स्थानीयकै अवरोधका कारण पानीको निकास हुन नसकेको बताए ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगन्ज महानगरका विभिन्न चार वडामा देखिएको डुबानको समस्या समाधान गर्न तीन तहका सरकारसँग समन्वय भइरहेको जानकारी दिए । ‘डुबान प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरिसकेका छौँ,’ उनले भने, ‘सरोकार भएका निकायसँग समन्वय गरेर समस्याको गाँठो फुकाउने प्रयास जारी छ ।’