• Menu

लागुऔषध दुर्व्यसनीमा फसेका युवालाई सीपमूलक तालिम सञ्चालन

नेपाल प्रफिट

२०८१ माघ १०, १६:४३


मकवानपुर । उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरले लागुऔषध दुर्व्यसनीमा फसेका युवालाई लक्षित गरी सीपमूलक कार्यक्रम सञ्चालन गरेको छ । लागुऔषध दुर्व्यसनीमा फसेर युवालाई सीपमुलक तालिम दिएर सही बाटोमा ल्याउने उद्देश्यले विभिन्न सीपमूलक कार्यक्रम सञ्चालन गरिएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिए ।

उनका अनुसार लागुऔषधको दुर्व्यसनीमा लागेर हेटौँडास्थित सुधार गृहमा रहेका ९० युवाहरुलाई लक्षित गरेर सुधारगृहभित्रै मौरिपालन, पेन्टिङ, कफी बनाउने लगायतका सीपमूलक तालिम सञ्चालन गरिएको छ ।

यस्तै मकवानपुरको राक्सिराङ, मनहरी, कैलाश, बकैया र मकवानपुरगढीमा विद्यार्थीलाई लक्षित गरी उपभोक्ता सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको प्रमुख भुषालले बताए ।

यता सो कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनाको अवधिमा डेढ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । उद्योग तथा वाणिज्यतर्फ नयाँ दत्र्ता, नवीकरण, नामसारी, पुँजी वृद्धि, खारेजी, ठाउँसारी लगायतका शीर्षकबाट एक करोड ५० लाख ८४ हजार ७०५ राजस्व संकलन भएको कार्यालय प्रमुख भुषालले बताए ।

सो अवधिमा दुई सय २१ नयाँ उद्योग, एक सय ४५ नयाँ वाणिज्य दर्ता भएको छ भने उद्योग र वाणिज्यतर्फका दुई सय ६७ उद्योग व्यवसाय खारेजी भएको प्रमुख भुषालले जानकारी दिए ।

उनका अनुसार चालु आवको ६ महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानमा रहेका ८६ उद्योग व्यवसायमा अनुगमन गरी एक लाख ३५ हजार जरिवानाबापत राजस्व संकलन भएको छ ।