सिन्धुली । गोलन्जोर गाउँपालिकामा तीनवटा सुविधा सम्पन्न सामुदायिक स्वास्थ्य केन्द्र बन्ने भएका छन् । गोलन्जोर गाउँपालिकाको वडा नं. ६ घोक्सिला, वडा नं. ४ तीनकन्याको किराँते र माझकुविण्डेमा सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माण हुने भएका हुन् ।
गाउँपालिका अध्यक्ष शंकराज बराल र ब्याक टु लाइफका निर्देशक अच्युतप्रसाद पौडेलले वडा नं. ४ किराँते सामुदायिक स्वास्थ्य केन्द्र, माझकुविन्डेमा रहेको तीनकन्या सामुदायिक स्वास्थ्य केन्द्र र घोक्सीला सामुदायिक स्वास्थ्य केन्द्रको भवन संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
ब्याक टु लाइफ इभी जर्मनी नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको ४ करोड ७१ लाख रुपैयाँबराबरको लागतमा हेल्थपोस्टहरूको निर्माण सुरु गरिएको छ । ब्याक टु लाइफको स्थानीय साझेदार संस्था समुदाय पद्धति विकास सेवा (सीएसडीएस) सिन्धुलीका ओभरसियर करण कार्कीका अनुसार नेपाल सरकारले तोकेको हेल्थ पोस्ट भवनको मापदण्डअनुसार डिजाइन गरिएको छ ।
ब्याक टु लाइफको ईभी जर्मनको सहयोगमा निर्माण हुने सामुदायिक स्वास्थ्य केन्द्रमा आकस्मिक कक्ष, औषधि कक्ष, प्रसूति क्षक, पूर्व प्रसूति कक्ष, उपचार कक्ष, दर्ता कक्ष, चिकित्सक कक्ष र बहु उपयोगी कक्षसमेत छन् ।
हेल्थपोस्ट भवनको निर्माण कार्य १२ महिनाभित्र सम्पन्न गरिने ब्याक टु लाइफका प्रबन्धक अनुप पौडेलले जानकारी दिए । निर्माणको जिम्मा वेदालय कन्स्ट्रक्सन भक्तपुरले पाएको छ ।