• Menu

भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी, रित्तै हिँड्न हम्मे पर्ने उकालोमा सय किलोको भारी

नेपाल प्रफिट

२०८१ पुस २८, १०:३१

भरियाले धानेको खुम्बु क्षेत्रको ढुवानी, रित्तै हिँड्न हम्मे पर्ने उकालोमा सय किलोको भारी

सोलुखुम्बु । खुम्बुको ठाडो उकालो बाटो, त्यसमाथि पिठ्युँमा सय किलोको काठ । पसिनाले निथ्रुक्क भिजेको शरीर । आकाश कुलुङको दिनचर्या यसरी नै बित्दै आएको छ, वर्षौंदेखि । बिहान सूर्योदयसँगै सुरू हुने यात्रामा उनी पिठ्युँमा सय किलोको भारी बोकेर सुर्केबाट लुक्लातर्फ करिब पाँच घण्टाको कठिन उकालो पार गर्छन् ।

यो बाटो अन्य यात्रुलाई रित्तो हिँड्न पनि हम्मे पर्छ । तर, उनका लागि यही उकालो नै परिवारको जीवन धान्ने गतिलो माध्यम बनेको छ ।

उमेरले २६ वर्षीय कुलुङको घर सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ गुदेल हो । निम्नवर्गीय परिवारमा जन्मिएका उनले सानैदेखि संघर्षसँग साक्षात्कार गर्नुपर्‍यो । सानै उमेरमा आमा गुमाएका उनको घरमा अहिले बुबा, श्रीमती र दुई साना छोरा छन् ।

बालबच्चाको शिक्षादीक्षा र सिङ्गो परिवारको पालनपोषण गर्ने जिम्मेवारी कुलुङकै काँधमा छ । परिवारको गुजारा चलाउन र बालबच्चाको शिक्षादीक्षाको खर्च जुटाउन दैनिक भारी बोक्नु उनको बाध्यता हो ।

‘हाम्रो जिन्दगी यसरी नै चल्छ । यो काम नगरी बाँच्न सकिँदैन,’ जाडो मौसममा पनि टिल्पिलाएको निधारको पसिना पुच्दै उनले भने । काठ, खाद्यान्न, जस्तापाता र अन्य सामग्रीका भारी बोकेर उकाली चढ्दा कुलुङ दिनभरि पसिनासरी हुन्छन् । यसरी भारी बोकेरै एक दिनमा दुई हजार पाँच सयदेखि तीन हजारसम्म कमाउँछन् । तर, यो कमाइले पनि परिवारको आवश्यकता पूरा गर्न हम्मे पर्छ ।

बढ्दो महँगी र घट्दो आर्थिक उपार्जनले कुलुङजस्ता धेरै युवाको गुजारा कठिन अवस्थामा धकिलिएको छ । तर, यही आम्दानीलाई मुख्य स्रोत मान्दै भारी बोक्नुपर्ने बाध्यता यहाँका बेरोजगार युवामा छ ।

उकालोमा पसिनाको कथा

सुर्केबाट लुक्लासम्मको यात्रामा उकालामात्र छैनन्, खुड्किला–खुड्किला परेको अप्ठ्यारो बाटो पनि छ । यो बाटोमा भारी बोक्दै उकाली चढ्नु चानचुने कुरा होइन । भारी बोक्दा थाकेर कुलुङ केही समय विश्राम गर्छन् । त्यहीबेला लामो श्वास फेर्दै उनी भन्छन्, ‘यो जिन्दगी सजिलो छैन ।”’

कुलुङका अनुसार खुम्बु क्षेत्रमा काम गर्ने भरियाको कामले मात्र स्थानीय ढुवानी प्रणाली धानेको छ । सडक अभावमा सामान ओसार्न भरियाकै भर पर्नुपर्छ ।

आकाश कुलुङ एक प्रतिनिधि पात्रमात्र हुन् । खुम्बु क्षेत्रका सयौँ भरियाको जीवन यस्तै छ । महाकुलुङ, सोताङ र आसपासका विकट गाउँका युवा रोजगार खोज्दै खुम्बु पुग्छन् । भारी बोक्ने कामले उनीहरूको परिवारको जीविका धानेको छ ।

तर, यो कामले न उनीहरूको जीवन सजिलो बनाएको छ न त भविष्यको ग्यारेन्टी नै गरेको छ । सुर्केसम्म सडक विस्तार भइसकेको छ तर त्यसभन्दा माथि सडक पुगेको छैन । यसले गर्दा लुक्ला र आसपासका क्षेत्रमा भरियाको माग छ ।

सामान ओसारपसारको एकमात्र विकल्प मानव श्रम नै हो । खुम्बु क्षेत्रका पर्यटक गन्तव्य विश्वमै प्रसिद्ध छ तर त्यहाँका भरियाको जीवन भने उस्तै कष्टकर छ । खुम्बुमा महँगी भएका कारण दिनभर कमाएको आम्दानी खानामै बढी खर्च हुने गरेको भरिया नवराज विकले बताए ।

‘यहाँ महँगो छ, दिनभर पसिनाको धारा छुटाएर भारी बोक्छौँ तर त्यो पैसा खानबस्नमा धेरै खर्च हुन्छ, यहाँ यसो हिसाब गर्दा चाहिँ धेरै कमाइ भयो जस्तो लाग्छ तर घर फर्किँदा कहिले त रित्तो हातजस्तै हुन्छ, गाह्रो छ भरियाको जिन्दगी,’ उनले भने । उनीहरूको पसिनाले खुम्बुको अर्थतन्त्र धानेको छ तर भारियाको जीवनमा स्थायित्व र सुविधा भने आउन सकेको छैन ।

‘मलाई अर्को सजिलो काम भेटिए हुन्थ्यो जस्तो लाग्छ,’ उनले भने । यति मेहनत गरे पनि यहाँ भरियालाई गर्ने व्यवहार भने फरक रहेको उनीहरूको गुनासो छ । भारी बोक्ने भन्नेबित्तिकै नराम्रो नजरले हेर्ने र कतिले त अपमान नै गर्ने गरेको उनीहरु बताउँछन् ।

खुम्बुको उकालो र भारी बोक्ने कथाले नेपालका विकट क्षेत्रका युवाको जीवनको यथार्थलाई चित्रण गर्छ । विकट भूगोल र विकासको असमानताले उनीहरूको संघर्षलाई थप चुनौतीपूर्ण बनाएको छ । स्थानीय पूर्वाधारको सुधार र रोजगारीका विकल्प खोज्नु यस्ता समस्याको दीर्घकालीन समाधान हुनसक्छ ।

आकाश कुलुङ र नवराज विकजस्ता युवाले ढुवानीमा गरेको परिश्रमलाई सम्मान गर्दै सरकारले उनीहरूको जीवनस्तर सुधार गर्ने योजना अघि सार्न आवश्यक छ । खुम्बुका पर्यटकका लागि यो उकाली दृश्यावलोकनको रमाइलो पाटो हो । तर, भारियाका लागि यो उकाली जीवन धान्ने संघर्ष हो ।

(सुवास दर्नाल/रासस)