पर्वत । चुत्रो प्रशोधन गरी आयुर्वेदिक औषधि बनाउन चुत्रो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । चिनियाँ लगानीकर्ताको करिब आठ करोड रुपैयाँ लगानीमा कुश्माको जलकेनीस्थित कालीगण्डकी नदी किनारमा ‘एसडीएसडी’ उद्योग सञ्चालन गरिएको हो ।
दैनिक २० टन जडीबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र गत सातादेखि सञ्चालनमा आएको छ । चीनको छिफु वायोटेक्नोलोजी प्रालिले चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको कम्पनीका प्रतिनिधि दीपेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।
पर्वतलगायत आसपासका जिल्लामा प्रशस्त पाइने गैरकाष्ठ वन पैदावारअन्तर्गत पर्ने चुत्रो संकलन गरेर यहाँ प्रशोधन गरिनेछ । चुत्रो पर्वत, म्याग्दी, बागलुङ, कास्की, लमजुङ, स्याङ्जालगायतका जिल्लामा प्रशस्त पाइन्छ ।
चुत्रोको जरा, हाँगा र डाँठलाई प्रशोधन गरी आयुर्वेदिक औषधिको कच्चा पदार्थ तयार गरिन्छ । यहाँ उत्पादित धुलो चीन पठाएर औषधिजन्य पदार्थमा मिश्रण गरी ‘पेनकिलर’, ‘सुगर’ लगायतको औषधि बनाउने कम्पनीले जनाएको छ ।
चुत्रोको कच्चा पदार्थलाई खनेको र काटेको एक हप्ताभित्र नसुक्दै हरियो अवस्थामै उद्योगसम्म ल्याउनुपर्छ । यसका लागि कम्पनीले प्रतिकिलो २० रुपैयाँका दरले मूल्य निर्धारण गरी किसानसँग चुत्रोको कच्चा पदार्थ र प्रतिकिलो आठ रुपैयाँका दरले गुर्जो गानो खरिद गर्ने जनाएको छ । प्रशोधन गरिने चुत्रोको माटोभन्दा माथि हुने काठको गोलाइ साढे दुई इन्चभन्दा बढी हुनुपर्छ ।
छिफु कम्पनीका व्यवस्थापक तथा सूचना अधिकारी हरिकुमार श्रेष्ठका अनुसार प्रशोधन केन्द्रले यहाँ औषधि तयार गर्ने नभई कच्चा पदार्थमात्र तयार गर्ने भएको हो । यहाँ कामै नलाग्ने काँडे झाडीका रूपमा लिइएको पदार्थलाई बिक्री गरेर किसानले समेत प्रशस्त आम्दानी गर्ने श्रेष्ठले बताए ।
उद्योगसम्म ल्याएको जरा र डाँठलाई नुन, पानी र ‘सल्फिड एसिड’मा कच्चा पदार्थमा केही दिन मिश्रण गराएर भिजाएर, निकालेर र सुकाएपछि धूलो बनाएर प्याक गरी निकासी गरिन्छ । सुरुमा प्रशोधन केन्द्र सञ्चालनका लागि उद्योग विभागबाट स्वीकृत भएका ३० जना कामदार भर्ति गरिने भएको छ ।
कम्पनीले पहिलोपटक एक हजार दुई सय सय किलो चुत्रोको कच्चा पदार्थ प्रशोधन गरी परीक्षण गरिसकेको जनाएको छ । सूचना अधिकारी श्रेष्ठले पर्वतमा सञ्चालनमा आएको यो खालको प्रशोधन कम्पनी सम्भवत नेपालमै पहिलो हो ।
डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामबहादुर विकले गैरकाष्ठ वनपैदावर अन्तर्गत पर्ने चुत्रो वनस्पतिलाई व्यक्ति र सामुदायिक वन समूहले बिक्री गरेर आम्दानी गर्न सके धेरै राम्रो हुने बताए ।
बाँझो बन्दै गएका व्यक्तिगत खरबारी, पाखो यत्रतत्र पाइने चुत्रो जातको वनस्पति सामुदायिक वनमा त्यत्तिकै खेर गइरहेको अवस्थामा उद्योग सञ्चालन भएपछि किसान तथा सामुदायिक वनले समेत लाभ लिन सक्ने उनको बुझाइ छ ।
नेपालमा अहिलेसम्म चुत्रोबारे उल्लेख नभएको हुँदा खरिद–बिक्रीका लागि पुर्जी जारी गर्न नपर्ने उनले बताए । चुत्रो वनस्पतिबारे जिल्लामा आधिकारिक अध्ययन, अनुसन्धान र खोजी हुन सकेको छैन ।
जिल्लामै चुत्रो प्रशोधन उद्योग सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका नागरिक बाँझो रहेका खेतबारी र पाखो तथा जंगल आसपासमा चुत्रको व्यावसायिक खेती गर्ने योजना बनाउन थालेका छन् ।