एजेन्सी । युरोपमा भारी हिमपात र वर्षा भएको छ । हिमपात र वर्षाले सयौँ उडान प्रभावित भएका छन् भने कतिपय ठूला सहरमा विद्युत सेवा नै अवरुद्ध भएको छ ।
विशेष गरी बेलायत र जर्मनीमा धेरै प्रमुख विमानस्थलले उडान स्थगित गरेका छन् । बेलायतमा तीन सय मिटरमाथिको भू–भागमा ४० सेन्टिमिटरसम्म हिउँ जमेको छ ।
विशेषगरी इङ्ल्यान्डको उत्तरी भेगका धेरै ग्रामीण समुदायसँगको सम्पर्क टुटेको छ । विद्युत सञ्जालको निरीक्षण गर्ने नेसनल ग्रिडले देशभर विद्युत आपूर्ति बन्द भएपछि पुनःस्थापना गर्ने काम गरिरहेको बताएको छ । इङ्गल्यान्डको बर्मिङ्घम, ब्रिस्टल र वेल्सको कार्डिफमा विद्युत् कटौती भएको छ ।
धेरै खेलकुद कार्यक्रम स्थगित भएका छन् । लिभरपुलको जोन लेनन विमानस्थल र म्यानचेस्टर विमानस्थलले धावनमार्ग बन्द गरेका छन् । लिड्स ब्राडफोर्ड विमानस्थल पनि बन्न भएको छ ।
हिमपात र वर्षाले क्रिसमस र नयाँ वर्षको बिदाबाट घर फर्किन लागेमा मानिस र विश्वविद्यालय फर्किन लागेका विद्यार्थी बढी प्रभावित भएका छन् । हिमपातका कारण धेरै सडक पहिले नै बन्द भएका छन् । अन्यत्र फसेका सवारी साधन र दुर्घटनाले अवरोध सिर्जना गरेका छन् । रेलमार्गमा धेरै सेवा रद्द गरिएका छन् ।
बेलायतको मुख्य मौसम पूर्वानुमानकर्ता मेट अफिसले हिमपात र असिना उत्तरतर्फ बढ्ने र उत्तरी इङ्गल्यान्ड र दक्षिणी स्कटल्यान्डमा सबैभन्दा बढी हुने बताएको छ । यसमाथि वातावरण एजेन्सीले दक्षिणी इङ्गल्यान्डमा टाव नदी र एभन नदीमा आठवटा बाढीको चेतावनी दिएको छ ।
भारी हिमपातले जर्मनीमा पनि विनाश निम्त्याइरहेको छ । अधिकारीहरूले मानिसलाई सम्भव भएसम्म घरमै बस्न सल्लाह दिएका छन् ।
फ्रेङ्कफर्ट विमानस्थलले आइतबारका एक हजार ९० उडान र अवतरणमध्ये १२० रद्द गरेको फ्रापोर्ट प्रेस कार्यालयले जनाएको छ । म्युनिख विमानस्थलमा एउटा धावनमार्ग खुला थियो भने अर्को सफा गरिँदै थियो ।
बाडेन–वुर्टेमबर्गमा हेमिङ्गेन सहरनजिकै एउटा बस चिप्लेर सडकबाट बाहिर जाँदा आठ जना घाइते भएका छन् । फ्रेङ्कफर्ट क्षेत्रमा लामो दूरीका रेल सम्पर्कहरूमा पनि अनियमितता देखिएको छ ।