• Menu

काठमाडौँ महानगरपालिकाको बजेट संशोधन प्रस्ताव पेस

नेपाल प्रफिट

२०८१ पुस १४, १६:४८

काठमाडौँ महानगरपालिकाको बजेट संशोधन प्रस्ताव पेस

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा अगावै काठमाडौँ महानगरपालिकाले बजेट संशोधन प्रक्रिया सुरु गरेको छ । काठमाडौँ महानगरपालिका नगरसभाको १६ औँ अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले चालु आवको बजेटको कार्यक्रम तथा बजेटको संशोधन प्रस्ताव पेस गरेकी छिन् ।

‘महानगरपालिकाको वार्षिक खरिद योजना र चौमासिक प्रगति विवरणअनुसार चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रम अनुसार लक्ष्य हासिल गर्न केही कार्यक्रमहरु हेरफेर गर्न जरुरी देखिएको छ,’

डंगोलले भनिन्, ‘विनियोजित बजेटमा कुनै योजना सञ्चालन गर्न नसकिने, कतिपय आर्थिक कार्यविधिअनुसार समय लाग्ने, कतिपय बहुवर्षिय योजनाअन्तर्गत सञ्चालन गर्नुपर्ने भएकाले विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएका र केही अत्यावश्यक योजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले यो संशोधन प्रस्ताव पेस गर्नुपरेको हो ।’

संशोधन बजेट प्रस्ताव गर्दा विषय विज्ञ, महानगरपालिकाका विषयगत समिति एवं अन्य विभिन्न समितिहरुमा छलफल तथा विश्लेषण गरी बजेट तथा कार्यक्रम तर्जुमा समिति र कार्यपालिका बैठकबाट सर्वसम्मत रुपमा पास गरी नगरसभामा पेस गरिएको उपप्रमुख डंगोलले बताइन् । आर्थिक वर्षका लागि विनियोजित कूल बजेट रकम, चालुगत तथा पुँजीगत खर्च रकममा कुनै थपघट नगरी क्रियाकलापमा मात्र संशोधनको प्रस्ताव पेस गरेको नगरसभामा उनले स्पष्ट पारे ।

संशोधित प्रस्ताव अनुसार आर्थिक विकासको क्षेत्रमा बजेट घटाएर ७२ करोड ४३ लाख ७१ हजार बजेट कायम गर्न लागिएको छ । सो क्षेत्रमा यस अघि ७२ करोड ९९ लाख ७१ हजार विनियोजन भएको थियो ।

कार्यालय सञ्चालन तथा प्रशासनीक क्षेत्रमा तीन अर्ब ७० करोड ५३ लाख ८ हजार विनियोजन भएकोमा त्यसलाई बढाएर तीन अर्ब ७२ करोड ६८ लाख ४२ हजार कायम गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै, पूर्वाधार विकासको क्षेत्रमा १२ अर्ब एक करोड ९३ लाख ९१ हजार पाँच सय बराबर वार्षिक विनियोजन रहेकोमा त्यसलाई घटाएर ११ अर्ब ८७ करोड ५१ लाख ३८ हजार ५ सय कायम गर्ने प्रस्ताव गरिएको छ ।

सामाजिक विकासका क्षेत्रमा यसअघि पाँच अर्ब ४८ करोड ८६ लाख ६९ हजार पाँच सय विनियोजन भएकोमा त्यसलाई घटाएर पाँच अर्ब ३५ करोड ३३ लाख ८८ हजार ५ सय कायम गर्ने प्रस्ताव गरिएको छ ।

त्यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा चालु आर्थिक वर्षका लागि दुई अर्ब २२ करोड ६५ लाख ८५ हजार बराबर बजेट कायम गर्ने प्रस्ताव महानगरले गरेको छ । उक्त क्षेत्रमा यस अघि र दुई अर्ब ९६ करोड २९ लाख ८५ हजार विनियोजन भएको थियो ।

पाँच महिनामा १६ प्रतिशत बजेट खर्च

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेट खर्च कार्यान्वयनमा भने कमजोर देखिएको छ । चालु आर्थिक वर्षका लागि महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार बराबरको बजेट ल्याएकोमा पुस ११ गतेसम्म चार अर्ब एक करोड चार लाख ५६ हजार बराबर खर्च भएको उपप्रमुख डंगोलले नगरसभालाई जानकारी गराइन् । हालसम्मको बजेट खर्च कूल विनियोजनको १६.१० प्रतिशत हो ।

महानगरपालिकाले हालसम्म चालु शीर्षकमा २३.५८ प्रतिशत र पुँजीगत खर्च १०.९२ प्रतिशत खर्च भएको छ ।

‘हालसम्म पूर्वाधार विकासमा १२ दशमलव १३ प्रतिशत, आर्थिक विकासमा २४.१८ प्रतिशत, सामाजिक विकासमा १२.२३ प्रतिशत खर्च भएको छ,’ डंगोलले भनिन्, ‘त्यसैगरी सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ७.९२ प्रतिशत खर्च भएको देखिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबैभन्दा वढी ३६.५४ प्रतिशत खर्च भएको देखिन्छ ।’

महानगरपालिकाले चालु आर्थिक वर्षमा १२ अर्ब ९० करोड ६३ लाख २५ हजार बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो । यही पुस ११ गतेसम्म कुल चार अर्ब नौ करोड ८९ लाख ३६ हजार बराबर राजस्व प्राप्त भएको महानगरपालिकाले जनाएको छ ।

जसमा आन्तरिक राजस्वतर्फ कुल दुई अर्ब ६१ करोड ५५ लाख ४३ हजार संकलन भएको छ भने राजस्व बाँडफाँडबाट ५९ करोड ८९ लाख ४१ हजार र संघ तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान ८८ करोड ४४ लाख ५१ हजार रहेको छ । हालसम्मको कुल राजस्व संकलन वार्षिक लक्ष्यको ३१.०७ प्रतिशत हुन आउँछ भने आन्तरिकतर्फ कुल लक्ष्यको ३२ दशमलव ५५ प्रतिशत प्रगति भएको देखिन्छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको प्रारम्भिक नतिजामा काठमाडौँ महानगरपालिकाले ८२.७५ अंक प्राप्त गरेको पनि डंगोलले बताइन् । यो अंक काठमाडौँ महानगरपालिकाले पाएको हालसम्मकै उच्च अंक हो ।