मकवानपुर । उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक संकटमा परेको छ । असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो ।
उत्पादन ठप्प भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, इन्धन खर्च बढिरहेको उद्योगको उच्च व्यवस्थापनले स्वीकार गरेको छ । आर्थिक संकटका कारण लामो समयदेखि बन्द रहेको उद्योगबाट उपकरण मर्मत हुनेबित्तिकै उत्पादन थाल्ने गरी तयारी भइरहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए ।
उपकरण मर्मत गर्न भारतबाट प्राविधक ल्याउनुपर्ने भएकाले उत्पादन सुरु हुन नसकेको हो । उद्योगसँग कच्चा पदार्थ पर्याप्त छ । ‘हामीसँगै कच्चा पदार्थको अभाव छैन,’ भण्डारीले भने, ‘उद्योगलाई चाहिने चार सय मेट्रिक टन कोइला मौज्दात छ ।’
आर्थिक अभावका कारण यसअघि पनि दुई महिना उद्योग बन्द भएको थियो । गत भदौ तेस्रो सातादेखि उत्पादन सुरु गरेको उद्योगले त्यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो ।
सरकारले २०३३ सालमा हेटौंडा-९ लामसुरेमा सिमेन्ट उद्योग स्थापना गरेको हो । एक अर्ब ३८ करोड ९० लाख लागतमा स्थापना भएको हेटौंडा सिमेन्ट उद्योगबाट २०४३ मंसिर २६ देखि व्यावसायिक उत्पादन सुरू भएको थियो ।
यो उद्योग पछिल्ला पाँच वर्ष घाटामा सञ्चालन भइरहेको छ । विद्युत् महसुल बढेको र सिमेन्टको बजार मूल्य घटेका कारण घाटा व्यहोर्नुपरेको उद्योग प्रशासनको तर्क छ ।
यो कम्पनीमा कुनै समय एक हजार कामदार तथा कर्मचारी कार्यरत थिए । राजनीतिक दलको हस्तक्षेप, सरकारी शैलीलगायतका कारण अहिले हेटौंडा सिमेन्ट उद्योगमा स्थायी, अस्थायी र दैनिक ज्यालादारीका समेत तीन सय हाराहारीमात्र कामदार कर्मचारी छन् ।