• Menu

भारतमा २२ करोडभन्दा बढी बालदुलही, आसाममा मात्र बालविवाहका घटनामा पाँच हजारभन्दा बढी पक्राउ

नेपाल प्रफिट

२०८१ पुस ८, ०९:३४

भारतमा २२ करोडभन्दा बढी बालदुलही, आसाममा मात्र बालविवाहका घटनामा पाँच हजारभन्दा बढी पक्राउ

एजेन्सी । भारतको आसाममा अवैध बालविवाहविरुद्ध गरिएको कारबाहीका क्रममा करिब पाँच हजार व्यक्ति पक्राउ परेका छन् ।

आसाम राज्यका अधिकारीले आइतबार दिएको जानकारीअनुसार बालविवाहविरूद्धको अभियानको तेस्रो चरण डिसेम्बर २१ र २२ मा मात्र ४१६ जनालाई पक्राउ गरिएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार बालविवाहको आरोपमा यो वर्ष अहिलेसम्ममा पाँच हजार व्यक्ति पक्राउ परेका छन् ।

आसाम राज्यका मुख्यमन्त्री हिमन्त बिस्वा शर्माले एक विज्ञप्ति जारी गरी सामाजिक कुरीतिको अन्त्यका लागि साहसिक कदम चाल्ने बताएका छन् । ‘आसामले बालविवाहविरुद्धको लडाइँ जारी राखेको छ,’ उनले भने, ‘रातभर छापा मारिएको छ र पक्राउ परेकालाई आइतबार अदालतमा पेस गरिनेछ ।’

संयुक्त राष्ट्रसंघका अनुसार भारतमा २२ करोडभन्दा बढी बालदुलही छन् तर यो शताब्दीमा बालविवाहको संख्यामा नाटकीय रुपमा कमी आएको छ । आसाम राज्यले सन् २०२३ को फेब्रुअरीमा सुरु भएको उन्मुलन अभियानका क्रममा विवाहित दम्पतीका अभिभावक र कम उमेरका वैवाहिक बन्धनमा बाँधिएका रजिष्ट्रारसहित हजारौँलाई पक्राउ गरिसकेको छ ।

शर्माले सन् २०२६ सम्ममा आफ्नो राज्यमा बालविवाहलाई पूर्णरूपमा अन्त्य गर्ने अभियान चलाएका छन् । भारतमा कानुनी रूपमा विवाहका लागि उमेर १८ वर्ष तोकिएको छ तर विशेष गरी गरिब ग्रामीण क्षेत्रहरूमा लाखौं बच्चा बालविवाहको बन्धनमा बाँधिन बाध्य छन् ।

थुप्रै आमाबाबुले आर्थिक अवस्था सुधार्ने आशामा आफ्ना छोराछोरीको विवाह गर्छन् । बालविवाहको कारण भारतीय समाजमा विवाहित किशोरीहरूले खाना पकाउने र अन्य घरायसी धन्दाका लागि विद्यालय जान छोड्ने गरेका पाइन्छ ।

विवाहपछि सानै उमेरमा बच्चा जन्माउँदा उनीहरूले स्वास्थ्य समस्या पनि भोग्नुपर्छ । सन् २०१७ को ऐतिहासिक फैसलामा भारतको सर्वोच्च अदालतले कम उमेरकी किशोरीसँग यौन सम्बन्ध राख्नु बलात्कार भएको बताएको थियो ।