• Menu

योमरी पुन्हीका अवसरमा सक्रिय युवा समाजद्वारा सांस्कृतिक कार्यक्रम आयोजना

नेपाल प्रफिट

२०८१ पुस १, १६:४३

योमरी पुन्हीका अवसरमा सक्रिय युवा समाजद्वारा सांस्कृतिक कार्यक्रम आयोजना

काठमाडौं । धान्य पूर्णिमा, योमरी पुन्ही एवं ज्यापू दिवसका अवसर पारेर सक्रिय युवा समाजले सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । समाजले काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागको सहयोगमा वडा नम्बर २४ मा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि महानगरपालिका उपप्रमुख सुनिता डंगोलले योमरी पुन्ही नेवार समुदायको विशेष पर्व भएको बताइन् । ‘नेवार समुदायमा १२ वटै पूर्णिमाको विशेष महत्व छ,’ उनले भनिन्, ‘योमरी पुन्हीको चाहिँ किसानका लागि बेग्लै महत्व छ ।’

असारमा रोप्ने र मंसिरमा भित्र्याउने प्रमुख खाद्यान्न धान बालीप्रति कृतज्ञ हुने पर्व भएकाले आजको दिनलाई धान्य पूर्णिमा पनि भनिएको उनले स्पष्ट पारिन् ।

त्यस्तै काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले योमरी पुन्ही उपत्यकाका किसानले धान भित्र्याउने समयमा पूजा गरेर खुसियाली मनाउने परम्परागत पर्व भएको बताए ।

‘दु:ख गरेर उत्पादन गरेको धान भित्र्याउने खुसियालीमा त्यही धानको चामलबाट योमरी बनाउने नेवारी समुदायको पुरानो चलन हो,’ उनले भने । योमरीमा चाकु राख्नुको कारण भने चिसोबाट बच्नु रहेको शाक्यले जानकारी दिए । चाकुले शरीरमा चिसोविरुद्ध लड्ने प्रतिरोधी क्षमताको विकास गर्ने उनको भनाइ छ ।

कार्यक्रममा नेकपा एमाले काठमाडौं महानगर कमिटी सचिव धनबहादुर महर्जनले योमरी पुन्ही कृषिसँग सम्बद्ध चाड भएकाले यसको ठूलो परम्परागत महत्व रहेको धारणा राखे ।

त्यस्तै समाजका अध्यक्ष एवं नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नम्बर २४ का सचिव शैलेन्द्रविलाश बज्राचार्यले नेवारी संस्कृतिमा आधारित परम्परागत योमरी पुन्ही पर्वको जगेर्ना र पुस्तान्तरणका लागि कार्यक्रम आयोजना गरिएको बताए । समाजसेवी डिल्लीरत्न तुलाधरलगायत सहभागी कार्यक्रममा करिब २ सय स्थानीयको उपस्थिति थियो ।